भक्तपुरमा कम्युनिस्टहरूले झुठ बोले, सुडालमा कांग्रेसलाई भव्य स्वागत (तस्वीर)
सुडाल । नेपाली कांग्रेस भक्तपुरले उपनिर्वाचन अन्तर्गत भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’को चागुनारायण नगरपालिकाको सुडाल क्षेत्रमा घरदैलो र चुनावी कार्यक्रमहरू गरेको छ ।
सोमबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् संसदीय दलकी सचेतक पुष्पा भुषाल, नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जन, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहित स्थानीय नेता तथा कार्यकर्ताहरूले सुडालमा घरदैलो कार्यक्रम गरेका हुन् ।
चुनावी कार्यक्रमहरूलाई कांग्रेस नेतृ भुसाल, युवा नेता महर्जनलगायतका नेताहरूले सम्बाेधन गरेका थिए । उनीहरूले कांग्रेसका उम्मेदवार भडेललाई विजयी बनाउन स्थानीयहरूसँग अपील गरेका थिए ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवार बनेका कृष्णलाल भडेललाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् । नेपाली कांग्रेस र उम्मेदवार भडेलको पक्षमा नारावाजी गरेका नेता तथा कार्यकर्ताहरूले जनताको समस्या कांग्रेसले मात्रै बुझ्ने बताए ।
सुडालका विभिन्न स्थानमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरूले भक्तपुर जिल्लामा कांग्रेसका नेताहरूले गरेका विकासका कार्यक्रमहरूलाई कम्युनिस्टहरूले ‘मैले गरेको हुँ’ भनेर झुठ बोलेको बताए ।
कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले सुडालको मुख्य सडक नेपाली कांग्रेसबाट भौतिक योजना मन्त्री बनेका रमेश लेखकको पालामा योजना र बजेट परेको बताए ।
लेखक मन्त्री भएका बेला आएको सडकलाई भक्तपुरका कम्युनिस्ट सांसद महेश बस्नेतले ‘मैले बनाएको हुँ’ भनेर झुठ बोलेपछि आलोचना र विरोध भएको छ ।
एमाले पृष्ठभूमि भएका कम्युनिस्ट सांसद बस्नेत सुडाल क्षेत्रका सांसद होइनन् । उनले सो सडकमा आफूले बनाएको भनेर दाबी गरेपछि विरोध भएको हो ।
घर दैलो कार्यक्रममा स्थानीय वृद्धा महिला र युवाहरूले टीका र माला लगाएर नेपाली कांग्रेसको प्रचारमा आएका नेता तथा कार्यकर्ताहरूको स्वागत गरेका थिए । उनीहरूले घरदैलोमा आएका नेता तथा कार्यकर्ताहरूको स्वागतमा बाटोहरूमा कल स्थापना गरेर भव्य रुपमा स्वागत गरेका थिए ।
घर दैलो कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार कृष्णलाल भडेल भने अनुपस्थित रहेका थिए ।
आफ्नी आमाको आइतबार बिहान निधन भएपछि शोकमा रहेका भडेल चुनावी कार्यक्रममा नआएपनि नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताका साथै केन्द्रबाट पनि नेताहरू सुडालको कार्यक्रममा आइपुगेको तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।
‘कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलज्यू शोकमा हुनुहुन्छ’, थापाले भने, ‘उहाँ नभएपनि हामीले प्रचार प्रसार र घरदैलो अभियान चलाएका छौँ । प्रचार प्रसारमा भक्तपुर तरुणले कमी हुन दिँदैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया