ओखलढुंगामा ईश्वर पोखरेलको गाउँमा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश
ओखलढुंगा । ओखलढुंगामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
ओखलढुंगा कांग्रेसले शनिबार चिसंखुगढी गाउँपालिकाको वडा नम्बर ८ मा आयोजना गरेको कार्यक्रममा नेकपा र राप्रपाका झण्डै तीन सय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरुले पार्टीमा भित्र्याएका हुन् ।
नेकपाका शुक्रबारज राई, पासाङ शेर्पा, आङशेरा शेर्पा, फर्वा शेर्पा, नीमापति शेर्पासहित ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राप्रपाका जिल्ला अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष बलराम राई, कोषाध्यक्ष विनोद सुवेदी, हीरा खतिवडा, जसबहादुर राईसहित दुई सय जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रभावशाली नेता समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको गाउँमै नेकपाका थुप्रै नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता रामहरि खतिवडाले नेपाली कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीले योग्यता र क्षमताअनुसार जिम्मेवारी दिइने बताए । ‘नेपाली कांग्रेसले सबैलाई मिलाएर राख्नेछ’, उनले भने, ‘क्षमता र योग्यताअनुसार सबैलाई स्थान दिइनेछ ।’
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारप्रति आक्रामक देखिएका खतिवडाले भने, ‘कम्युनिस्टहरु जस्तो झुठको खेती नेपाली कांग्रेसले गर्न जानेको छैन । हामीले जे बोल्छौँ त्यो गर्छौं ।’
कम्युनिस्टहरुले जनतालाई निर्वाचनमा गरेको प्रतिवद्धताअनुसारका कुनै पनि काम नगरेका कारण नेकपाकै कार्यकर्ताहरुमा वितृष्णा उत्पन्न भएको बताए । नेकपामा वितृष्णा भएपछि धमाधम नेपाली कांग्रेसमा प्रवेश गरेको खतिवडाले बताए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया