कांग्रेसका सुशीलले फिर्ता गरे, भण्डारी र ओलीले २३ करोड सिध्याए
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले विदेश भ्रमणमा मात्रै करोडौँ रुपियाँ खर्च गरेको खुलासा भएको छ ।
एलेक्साको र्याङ्किङमा पहिलो नम्बरमा रहेको (न्यूज पोर्टलमा) अनलाइन खबर डटकमले भण्डारी र ओलीले २३ करोड रुपियाँ सिध्याएको रिपोर्ट सार्वजनिक गरेको छ ।
राष्ट्रपति भण्डारीले म्यानमार र जापानको भ्रमण गरेकी छिन् । झण्डै डेढ साता लामो भ्रमण पूरा गरेकी राष्ट्रपति भण्डारीले फजुल खर्च गरेको आरोप छ । उनी बुधबार स्वदेश फर्किएकी छिन् ।
प्रधानमन्त्री ओलीपनि अहिले विदेश भ्रमणमा छन् । ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अनलाइन खबरका अनुसार, स्वास्थ्योपचारका लागि दुई पटक सिंगापुर गएको अवधिलाई छाडिदिने हो भने ओलीले २० महिनामा १०औं विदेश भ्रमणमा देश बाहिर निस्किएका छन् ।
ओली फागुन ३ गते ०७४ मा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा मात्र साढे २३ करोड रुपियाँ खर्च भएको अनलाइन खबरको रिपोर्टमा उल्लेख छ । यो खर्च विवरणमा राष्ट्रपतिको म्यानमार र जापान भ्रमणको खर्च समावेश छैन ।
अर्थ मन्त्रालयबाट भ्रमणमा लागेको खर्चका लागि निकासा भएको विवरण अनुसार यस अवधिमा प्रधानमन्त्री ओलीको विदेश भ्रमणमा १५ करोड ३९ लाख ८३ हजार २ सय ५३ रुपियाँ खर्च भइसकेको छ ।
राष्ट्रपतिको विभिन्न मुलुकको भ्रमणमा ७ करोड ९३ लाख ३८ हजार ४ सय १७ रुपियाँ खर्च भएको छ ।
राष्ट्रपतिको म्यानमार–जापान भ्रमण र प्रधानमन्त्रीको आशन्न अजरबैजान भ्रमणको बील आइनसकेको अनलाइन खबरले जनाएको छ ।
उपराष्ट्रपति र मन्त्रीहरुको विदेश भ्रमणमा पनि सरकारी ढुकुटीबाट खर्च भएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूले पनि बाक्लै विदेश भ्रमण गरेका छन् ।
अनावश्यक रुपमा विदेश भ्रमण नगर्ने भनिए पनि २ करोडभन्दा बढी खर्च हुने गरी प्रधानमन्त्री ओलीले गरेको भियतनाम, कम्बोडिया आदि देशको खासै औचित्यपूर्ण देखिएको छैन ।
विगतमा प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका भ्रमणबाट फर्कँदा प्रधानमन्त्रीले पाउने भत्ताबाट बचेको रकम फिर्ता गरेका थिए ।
अहिलेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण बापत पाउने गरेको भत्ता फिर्ता गरेको नसुनिएको अनलाइन खबरले उल्लेख गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया