कांग्रेस नेता आलमको समर्थनमा रौतहटमा भव्य प्रदर्शन, गौर बजार भरियो (तस्वीर)
गौर । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई फसाइएको भन्दै समर्थकहरूले रौतहट जिल्लामा प्रदर्शन गरेका छन् ।
प्रहरीले १२ वर्षअघिको रौतहट बमविष्फोट र सामूहिक हत्याकाण्डमा संलग्न भएको भन्दै पक्राउ गरेर आलमलाई हिरासतमा राखेपछि उनका समर्थकहरूले शुक्रबार रौतहट जिल्लाको सदरमुकाम गौरमा मौन जुलुस निकालेका हुन् ।
जुलुसमा सयौँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
पौने १२ देखि १ बजेसम्म रौतहटको गौरस्थित बसपार्कदेखि राइसमिलसम्म मौन जुलुस निकालिएको थियो । मौन जुलुसका सहभागीहरूले मुखमा कालोपट्टी बाँधेर हिँडेका थिए । 
जुलुसमा प्रदेश सांसद धनलाल थोकरदेखि राजपुर नगरपालिकाका मेयर शेख सकिललगायतको पनि सहभागिता थियो ।
जुुलुसमा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति कृष्ण यादव, वृन्दावन नगरपालिकाका मेयर रमेशसिंह राय यादव, परूवा नगरपालिकाका मेयर शेख वकिलको पनि सहभागिता थियो ।
जिल्ला अदालत रौतहटले शुक्रबार नेपाली कांग्रेसका नेता आलममाथि अनुसन्धान गर्न ८ दिनको म्याद थपिदिएको छ । 
म्याद थपका लागि अदालत ल्याइएका आलमले आफूविरूद्ध राजनीतिक प्रतिशोध साँध्न १२ वर्षअघिको हुँदै नभएको घटनामा आफूलाई मुछिएको बताएका छन् ।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो ।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ ।
हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया