परस्त्रीगमनका आरोपी महराको तिहार पनि बिथोलियो

काठमाडौं । अर्काकी पत्नी समेत रहेकी संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती यौन सम्पर्क गरेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महरा तिहारमा पनि प्रहरीको हिरासतमा बस्नुपर्ने भएको छ ।

बयान दिन अटेर गर्दै आएका महारालाई जिल्ला अदालत काठमाडौंले बिहीबार थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो अनुमतिसँगै महराको तिहार पनि बिथोलिएको छ ।

पछिल्लो पटक थपिएको ५ दिनको समयमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले ७ दिन म्याद थप भएको र अनुसन्धान चलिरहेको बताएका छन् ।

महरा उपचारका क्रममा अस्पतालमा छन् । उनी हिरासतमा बसेका छैनन् । अस्पतालले डिस्चार्ज गरेको छैन ।

संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरालाई बचाउन आफन्तहरूले विभिन्न हर्कत र गतिविधि गर्दै आएका छन् । दशैँका बेला पक्राउ परेका महराको तिहार पनि हिसतमा हुनेछ ।

Published : Friday, 2019 October 25, 7:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया