कांग्रेस रहँदासम्म कम्युनिस्टहरूको हर्कत पूरा हुँदैनः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि चिनियाँ राष्ट्रपति सी चिनफिङ र भेनेजुुयलाका राष्ट्रपति निकोलस मदूरोको पथ पछ्याएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस निकटको वित्तीय संस्था कर्मचारी संघले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीको सबैभन्दा आदर्श पुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीसँग सी चिनफिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने सम्झौता गर्दै लोकतन्त्रमाथि प्रहार शुरू भएको छ’, उनले भनेका छन् ।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टको सर्वसत्तावादलाई संविधानसभाबाट संविधानभित्र घुसाउन नसकेपछि लोकतन्त्र विरोधी विषयहरू अहिले कानून बनाउन खोजेको आरोप लगाए । उनले कम्युनिस्ट शासन ल्याउन नेपाली कांग्रेसले नदिने चेतावनी दिए ।
कम्युनिष्ट सरकारले कानून बनाउँदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको पौडेलले बताए ।
‘संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउनेक्रममा हामीले लोकतन्त्रका मूल्य मान्यतामा कम्युनिष्टसंग धेरै लडाइँ गरेका थियौं’, उनले भनेका छन्, ‘उनीहरूले हामीसंग बहस गर्न नसकेर लोकतन्त्रका मूल्य मान्यता स्वीकार गरेर बसेका छन् ।’
वरिष्ठ नेता पौडेलले अहिले कानून बनाउँदा ती लोकतान्त्रिक मूल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेको बताए ।
पौडेलले भेनेजुएला र सी पथलाई आर्दश मान्ने कम्युनिष्टहरूको नियत स्पष्ट भएको बताए ।
उनले नेपाली कांग्रेस भएसम्म लोकतन्त्रका मूल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर काेइराला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे । उनीहरूले कम्युनिस्टहरू निरंकुश बन्दै गएकाे भन्दै कांग्रेसले संविधान विपरित हुने हर्कतकाे विराेध गर्ने चेतावनी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया