शीर्ष नेताहरूको सहमतिमा कांग्रेसको बैठक स्थगित, एक भएर कम्युनिस्टसँग भिड्ने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका विषयमा क्षेत्र र जिल्लाहरूबाट सिफारिस भएका उम्मेदवारहरूका विषयमा छलफल गर्न बोलाएको बैठक अर्को दिन बस्ने गरी स्थगित भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।

जिल्लाहरूले मापदण्डभन्दा धेरै उम्मेदवारहरूको नाम सिफारिस गरेकाले सहमति खोज्ने भन्दै बैठक अर्को दिनका लागि स्थगित गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘नेपाली कांग्रेसको विधानले दिएको क्षेत्राधिकारभन्दा धेरै उम्मेदवारहरूको नाम सिफारिस भएर आयो’, शर्माले भने, ‘सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका शीर्ष नेताहरूको सल्लाह र सझावमा बैठक अर्को दिनलाई सारिएको छ ।’

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले शीर्ष नेताहरूको निर्देशनमा उपनिर्वाचनका उम्मेदवारहरूको नामलाई अझै साँघुरो बनाएर पठाउन पुनः जिल्ला कार्यसमितिहरूलाई आग्रह गर्ने शर्माले बताए ।

उपचुनावका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

नेताहरू भने दिनभर सानेपास्थित पार्टी कार्यालयमा थिए । स्रोतकाअनुसार विभाग थप गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक प्रभाभित भएको छ ।

नेपाली कांग्रेसको अर्को बैठक कात्तिक १४ गते पुनः बस्नेछ । सोही बैठकले उपनिर्वाचनको विषयमा अन्तिम टुंगो लगाउनेछ ।

उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना उम्मेदवारहरूलाई विजय बनाउन नेपाली कांग्रेसविरुद्ध षड्यन्त्र गरिरहेका बेला नेपाली कांग्रेसले पनि आफूलाई सशक्त रुपमा अगाडि बढाउने रणनीति बनाएको छ ।

नेपाली कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘पार्टी विधानको परिच्छेद ८ को ३२ को उपधारा ८ अनुसार तीन जनाको नाम प्रस्ताव गर्नुपर्ने भएपनि धेरै आएकाले बैठक बस्न सकेन । सभापति, वरिष्ठ नेतासहितका अन्य शीर्ष नेताहरूज्यूको सहमतिमा अर्को दिन बैठक बस्ने गरेर स्थगित भएको छ ।’

Published : Thursday, 2019 October 24, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया