दैलेख कांग्रेसका उपसभापति महतको दिल्लीमा निधन

काठमाडौं । नेपाली कांग्रेस दैलेख जिल्ला उपसभापति भुुपेन्द्र महतको निधन भएको छ ।

महतको नयाँदिल्लीको मेदेओर अस्पतालमा बुधबार साँझ छ बजे निधन भएको हो ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अनुसार महत भारतको मुम्बई, हरियाणाको सोनिपत हुँदै नेपाल फर्किने क्रममा दिल्लीको आनन्द बिहारमा मुर्छा परेका थिए ।

अस्पताल स्रोतका अनुसार अनको डेंगीका कारण निधन भएको हो ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिकी अध्यक्ष सुनिता जिसी कुवँरका अनुसार नेपाली कांग्रेस दैलेख जिल्ला उपसभापति महत आनन्द विहारमा अचेत भएर लडेपछि नेपाल जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका सचिव एलपी पाण्डे र तरुण दल उत्तर भारतका साँस्कृतिक सचिव करन बुढाको नेतृत्वमा रहेको टोलीले आनन्द विहार पुगेर अस्पताल पुर्‍याएको थियो ।

घटनास्थलबाट महतलाई पहिला निजी अस्पताल म्याक्समा उपचारका लागि भर्ना गरिएपछि उनलाई डेंगी भएको थाहा भएको पाण्डेले बताए ।

उपचार महंगो भएपछि उनलाई एम्स अस्पताल र अन्तिममा एम्स नजिकैको निजी अस्पताल मेदेओर अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउने प्रयास सफल भएन ।

बुधवार अन्तिम श्वास लिएका हुन । विहानसम्म २७ हजार रहेको प्लेटलेट्स संख्या साँझसम्म २० हजारमा झरेपछि ज्यान गएको हो ।

महतलाई पहिलैदेखि डेंगी भएको आशंका गरिएको छ । रोगका बारेमा थाहै नभएपछि अकालमै ज्यान गएको नेजस उत्तर भारतले जनाएको छ ।

युवा अवस्थामै ज्यान गुमाएका महतप्रति देशभरका कांग्रेस नेता, कार्यकर्ताहरूले दुख व्यक्त गरेका छन् ।

Published : Thursday, 2019 October 24, 8:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया