नेकपाकी उपाध्यक्ष निशाले देखाइने लाज लाग्ने हर्कत (सम्वाद)

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्नै पार्टीका युवा नेतालाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् ।
उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पनि हुन् ।

सामाजिक सञ्जालमा भ्रष्टाचार गरेर पैसा खाएको भनेर नाताले जेठाजु पर्ने राजु जाग्रीले ठगुन्नाको स्टाटसमा कमेन्ट लेखेपछि विवाद बढ्दै गएको हो । जाग्री केदारस्युँ ७ निवासी हुन् ।

उपाध्यक्ष ठगुन्ना र जाग्रीबीचको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । फोनमा उपाध्यक्ष ठगुन्नाले जाग्रीलाई सुन्नै नसकिने शब्दहरू प्रयोग गरेर गाली गरेकी छिन् ।

फोनवार्तामा उपाध्यक्ष धामीले अपाच्य शब्द प्रयोग गर्दै जाग्रीलाई झपारेको प्रष्टै सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् ।

फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अपशब्द प्रयोग गरी गाली गरेकी हुन् ।

३ कात्तिकमा उपाध्यक्ष धामीले आफ्नो फेसबुक वालमा ‘कहिलेकाहीँ यसरी निदाइदिन मन लाग्छ कि मेरो आँखाले अर्को बिहानी देख्न नपरोस् । मेरो कानले अरुको बोली सुन्न नपरोस् । अनि मेरो मुटुले धड्कनलाई पूरा बेवास्ता गरेर छोडिदेओस्, अनि कसैको रुवाइको मलाई कुनै अवगत नहोस्, अनि टाढिन खोज्नेहरूलाई सधैंलाई छुटकारा मिलोस् । अन्धो त थिएन म, तर मानवहरूलाई चिन्नै सकिनँ । आफ्नो जीवनसँग आफैं…..’ लेखेर पोष्ट गरेकी थिइन् ।

उक्त पोष्टको कमेन्टमा राजु जाग्रीले ‘चिन्ता परो झन् झन्, रोएको रोएइ छ यो मन, घूस खानाले डरले चिन्ता र्पयो झन्’ भन्दै कमेन्ट गरेका छन् । त्यसपछि क्रमशः दुवै जना कमेन्ट बक्समै बाझेका देख्न सकिन्छ । उपाध्यक्ष धामीले कमेन्टको रिप्लाइमा पनि जाग्रीलाई अपशब्द प्रयोग गरेकी छन् ।

गत १ साउनमा गाउँपालिकामा ६८ जना स्वयंसेवक शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढ्यो । वडा नम्बर १ का वडा अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीका अनुसार मावि, निमावि, प्रावि र शिशु कक्षाका लागि ती कोटामा शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

उपाध्यक्ष निशा धामीका अनुसार राजुले केदारस्युँ गाउँपालिकामा लागू भएको बालशिक्षामा आफूलाई राख्नुपर्ने माग राख्दै आएका थिए । राजुले आफूलाई बालशिक्षा कोटामा राख्न भन्दै एउटा मान्छेलाई पैसा दिएर आफूलाई भेट्न लगाएको र आफूबाट अस्वीकार भएको उपाध्यक्ष धामीको भनाइ छ ।

‘त्यसरी पैसा दिएर मान्छे लगाई बालशिक्षाको कोटामा राख्न आग्रह आएपछि मैले अस्वीकार गरें । त्यसपछि गाउँपालिकाको बालशिक्षक नियुक्त गर्ने कार्यक्रमको दिनभन्दा अघिल्लो दिन राजुले राति १०:३० बजे फोन गरेर हैरान पार्नुभयो,’ उपाध्यक्ष धामीले भनिन्, ‘म आफ्नै तनावमा थिएँ । कात्तिक ३ गते एउटा स्टाटस फेसबुकमा राखें । उहाँले मलाई भ्रष्टाचारको आरोप लगाउनुभयो । बिनाकारण मेरो चरित्रहत्या भयो । उहाँको र मेरो लिनुदिनु केही थिएन । त्यसपछि मैले पनि फोन गरेर गाली गरें । नाताले उहाँ मेरो जेठाजू पर्नुहुन्छ । गाली नगर्नु पर्ने मैले, आवेशमा आएर गरिहालें । अब जे पर्छ, त्यो बेहोर्न तयार छु ।’

राजुले उपाध्यक्ष धामीले आफूलाई एक्कासि बिनाकारण गाली गरेको बताएका छन् । गल्ती गरेकै भए आफूलाई गाली नगरेरै कानुनी व्यवस्थाअनुसार कारबाही गर्नुपर्ने उनी बताउँछन् ।

फेसबुकमा आफूले कुनै रिस नभई मजाक गर्न खोजेको उनको भनाइ छ । बालशिक्षामा भएको अनियमितताबारे कुरा सामाजिक सञ्जालमा भाइरल भएकाले आफूले लेखेको उनको तर्क छ ।

उपाध्यक्ष निशाले बालशिक्षामा भ्रष्टाचार गरेको प्रमाण आवश्यक परे देखाउन तयार रहेको दाबी जाग्रीले गरेका छन् । (प्रताप ओली/शिलापत्र डटकमबाट साभार)

Published : Wednesday, 2019 October 23, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया