बैतडी घटनामा कांग्रेस गम्भीर, छानविन गर्न टोली पठायो

काठमाडौं । नेपाली कांग्रेसले बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर नगरपालिकाले सहमति निर्माण गर्ने प्रयत्न गर्दा गर्दै स्थानीय नागरिकलाई विश्वासमा नलिई कात्तिक ४ गते एकपक्षीय रुपमा सडक खन्ने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ’, नेपाली कांग्रेसले भनेको छ, ‘सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काइभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘डोजर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ ।’

‘नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषीमाथि कडा कार्वाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका तर्फबाट घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनैतिक दलहरू, स्थानीय प्रशासन, संचारकर्मी एवं आवश्यक व्यक्तिसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा बहादुरसिंह थापालाई बैतडी पठाइएको छ ।

कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत रहेका संविधान सभा सदस्य थापाले मंगलबार साँझबाट बैतडीमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

बाटो बनाउने क्रममा डोजरले महिलालाई पल्टाएर चोट लागेको छ । बैतडी प्रहरीले डोजर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

Published : Tuesday, 2019 October 22, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया