कृष्णबहादुर महराकै वडाका शक्तिशाली ‘अरिँगाल’ पक्राउ
घोराही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
अराजक गतिविधिसँगै राजनीतिको नाममा गुण्डागर्दी गरेको अभियोगमा दाङ प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । कैलालीमा पक्राउ परेका श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख एसपी जनकराज भट्टराईले जानकारी दिए ।
‘विवेक श्रेष्ठलाई पक्राउ गरिएको छ’, उनले भने, ‘दाङमा ल्याएर हिरासतमा राखेर अनुसनधान शुरु भएको छ । कारबाही हुन्छ ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै प्रवेश गरेर बलजफ्तिरुपमा घोक्रेठ्याक लगाएर हातपात र दुर्व्यवहार गर्नुका साथै सोही समयमा डिउटीमा रहेका प्रहरीलाई हुत्याउँदै हातपात तथा दुर्व्यवहार गरेको आरोप श्रेष्ठलाई लागेको छ ।
गुण्डागर्दी गरेको अभियोगमा प्रहरीले खोजतलास शुरु गरेपछि श्रेष्ठ दुई महिनादेखि फरार थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता विनोदविक्रम शाहले श्रेष्ठलाई कैलालीबाट प्रहरीले पक्राउ गरेको बताएका छन् ।
श्रेष्ठले घटना घटाएर फरार भएपछि प्रहरीले उनको खोजीकार्य तीव्र पारेको थियो ।
पटक–पटक विवादमा आउने र सत्ताको राजनीतिको आडमा प्रहरीलाई समेत दुर्व्यवहार र हातपात गरेर चुनौती दिन थालेपछि दाङ प्रहरीले नेकपाका नेता श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ कैलालीमा लुकिछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा प्रहरी पक्राउ गरेको थियो ।
तत्कालीन दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे आफैले नै सरुवा भई जानेबेलामा नेकपाका युवा नेता श्रेष्ठमाथि मुद्धा दर्ता गर्नुका साथै बर्दीमा रहेका प्रहरीलाई हुत्याउने र दुर्व्यहार गरेको प्रहरी प्रतिवेदनलाई सोही मुद्धा दर्ता गर्न सफल भएका थिए ।
एसपी पाण्डेले मुद्धा दर्ता गरेपछि श्रेष्ठ भाग्दै आएका थिए । सामाजिक सञ्जाल फेसवुकमा श्रेष्ठले आफूलाई पावरमा देखाउने गरी दुईतिहाइको शक्तिशाली कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली, प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोख्रेल र अर्काकी पत्नी समेत रहेकी संसद सचिवालयकी महिला कर्मचारीलाई भ्याएको आरोप लागेपछि सभामुख पद गुमाएका नेकपाका नेता एवम् सांसद कृष्णबहादुर महराको फोटो हालेर प्रहरीलाई होच्याउने गरी अभिव्यक्ति पोष्ट गर्दै आएका थिए ।
संयोग नै मान्नुपर्छ यौनकाण्डमा पक्राउ परेका कृष्णबहादुर महरा र युवा नेता श्रेष्ठको घर एउटै वडामा पर्छ । घाेराही उपमहानगरपालिका वडा नं. १७ उनीहरूकाे वडा हाे ।
महराले नै श्रेष्ठलाई केही समय राजनीतिक संरक्षण पनि दिएका थिए । श्रेष्ठलाई पछिल्लो समय प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि संरक्षण गर्दै आएको चर्चा छ ।
प्रहरी र प्रतिष्ठानका रजिष्टारलाई हातपात गरेर भागेका श्रेष्ठलाई दाङ प्रहरीकै आग्रहमा कैलाली प्रहरीले समातेको एसपी भट्टराईले बताएका छन् ।
नेकपाका युवा नेता श्रेष्ठलाई यसअघि ट्राफिक प्रहरीले हेलमेट नलागएपछि कारबाही गर्न खोज्दा सत्ताको आडमा ट्राफिक प्रहरीलाई नै दुर्व्यवहार गरेका थिए ।
श्रेष्ठको त्यो ज्यादति सहन नसकेर दाङका ट्राफिक प्रहरीले बर्दी फुकालेर राजीनामा दिनेसम्मको घटना भएको थियो ।
त्यतिमात्रै नभई पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका नेता श्रेष्ठले तत्कालीन समयमा राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरभित्रै प्रवेश गरेर डाक्टरमाथि हातपात समेत गरेका थिए ।
श्रेष्ठले जिल्ला प्रहरी कार्यालय दाङभित्रै लेनदेनको मुद्धामा चेक च्यातिदिएका थिए ।
त्यस बेला घटना थाहा पाए लगत्तै तत्कालीन एसपी बेलबहादुर पाण्डेले कार्यकक्षबाट पक्राउ गर्न निर्देशनसमेत दिएका थिए ।
घोराही उपमहानगरपालिकाको वडा नम्बर १७ को वडाध्यक्षका उम्मेदवार भएर चुनाव हारेका श्रेष्ठले चुनावकै बेला थारु युवाहरूमाथि हातपात समेत गरेका थिए ।
भदौको दोस्रो हप्तामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई श्रेष्ठले हातपातसहित दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दर्ता भएपछि उनको प्रहरीले खोजी गरेको थियो ।
प्रतिष्ठानले घटनामा संलग्न सबैको नामसहित जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको थियो ।
दाङमा प्रहरी प्रमुख एसपी भट्टराई आउनेवित्तिकै श्रेष्ठलाई पक्राउ गरेका छन् । नेकपाका नेता श्रेष्ठसँगै अर्का युवा नेता नवीन अभिलाषिमाथी पनि मुद्धा दर्ता भएको छ ।
प्रहरी र प्रतिष्ठानका कर्मचारीलाई दुर्व्यवहार गरेर चर्का हर्कत गर्नेमा नवीन अभिलाषीको नाम पनि अग्रस्थानमा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया