सयौँ शुभेच्छुकहरूद्वारा कांग्रेस नेता आलमको पक्षमा नारावाजी

गौर । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई दोस्रो पटक पाँच दिन म्याद थप गरिदिएको हो ।

ईटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता आलमले आफू अस्वस्थ भएको बताउँदै आएका छन् ।

उनले घर परिवारका साथै कानूनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिएका छैनन् ।

शुक्रबार बयानको लागि सरकारी वकिलको कार्यालयमा पेश गर्दा आदलमले ब्लड प्रेसर कम भएको भन्दै बयान दिन मानेका थिएनन् ।

घटनास्थलबाट घाइतेलाई लोड गरेर ईटा भट्टासम्म पुर्‍याउने ट्याक्टरको नम्बर समेत खुलेको सरकारी वकिलले जनाएका छन् ।

सरकारी वकिल खडिन्द्र कटुवालका अनुसार उक्त ट्याक्टरको दर्ता बुझ्ने काम भइरहेको छ ।

घटनाका एक घाइतेको फरेन्सिक टेष्ट गर्नुपर्ने आधार सहित बहस भएको कटुवालले बताएका छन् ।

म्याद थपपछि अदालतबाट बाहिरिँदै गर्दा अफताव आलमले घटनै नभएको प्रतिक्रिया दिए ।

‘घटना नभएका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो त्यही नै सत्य हो’, उनले भनेका छन् ।

बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन आइतबार आलमलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालत बाहिर परिसरमा कांग्रेस नेता आलमका समर्थकले उनको पक्षमा नारावाजी गरेका थिए । सयौँको संख्यामा आएका उनीहरूले आलम निर्दोष रहेको दाबी गरेका थिए ।

आलमका शुभेच्छुकहरू सयौँको संख्यामा आएपछि रौतहट प्रहरीले उच्च सुरक्षा रणनीति अपनाएको छ । दर्जनौँको संख्यामा सुरक्षाकर्मीलाई सडकमा उतारिएको थियो ।

Published : Sunday, 2019 October 20, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया