अब तरुण दलमा नयाँ महासचिव, ओली–सिलवालहरूको भण्डाफोर
ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसको जागरण अभियानलाई औचित्यहीन भन्ने तरुण दलका महासचिवलाई कारबाही गरिसकिएको बताएका छन् ।
नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ ले शनिबार चापागाउँमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले जागरण अभियानलाई नौटंकी र औचित्यहीन भनेर अनुशासनहीन काम गर्ने महासचिवलाई कारबाही गरिएको बताए ।
‘पार्टीको जागरण अभियान शुरु भएको थियो । जागरण अभियानमा केही कुराहरू आए’, उनले भने, ‘तरुण दलको केन्द्रीय समिति विस्तारको कुरा भयो । विवादहरू बाहिर आयो । छताछुल्ल भयो ।’
‘हामीलाई जुन उर्जा थियो त्यसलाई घटाउने काम पनि भयो । अनुशासनहीता काम गर्न कुनै पनि संगठनमा पाइँदैन । तरुण दलमा त झन् पाइँदै पाइँदैन’, बस्नेतले भने, ‘हामी क्याडर बेस हौँ । त्यसैले हामीले महासचिवलाई कारबाही गरिसकेका छौँ ।’
‘तरुण दलको महासचिवलाई पार्टीबाट पनि स्पष्टीकरण मागी सकिएको छ । जागरण अभियानलाई नै औचित्यहीन भन्ने । नाटक भन्ने । जागरण अभियानको औचित्य छैन भन्ने । त्यसले कुनै पनि उदेश्य प्राप्ति गर्दैन भन्ने व्यक्तिलाई हामीले राख्न सक्दैनौँ’, उनले भनेका छन् ।
‘त्यो जुनै पदमा होस् । जागरण अभियानको कुरालाई लिएर उहाँसँग स्पष्टीकरण मागियो । स्पष्टीकरणमाथि स्पष्टीकरण सोध्ने’, अध्यक्ष बस्नेतले भने, ‘उहाँले विभिन्न जिल्लामा चिठी बाँड्दै हिँड्ने । चिठीलाई खारेज गर्यो भने फेरि खारेजी गर्ने । यो कुरा सैह्य हुँदैन ।’
नेपाल तरुण दलले छिट्टै नयाँ महासचिव पाउने उनले बताए । ‘आगामी दिनमा नयाँ महासचिव आउँछ । मलाई विश्वास छ’, बस्नेतले भनेका छन् ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान उद्घाटन गरेकै दिन स्टेटमेन्ट जारी गरेर ‘नेपाली कांग्रेसको जागरण अभियान नौटंकी हो, कुनै औचित्य छैन’ भनेर अभिव्यक्ति दिएका थिए ।
त्यति मात्रै होइन सिन्धुपाल्चोकमा कारबाहीमा परेका सगुन श्रेष्ठको कारबाही फुकुवा र सप्तरीमा तरुण दलको अध्यक्ष बनाउन पत्र दिने जस्ता हर्कत गरेपछि शाहीलाई कारबाही गरिएको थियो ।
नेपाल तरुण दल अबको छ महिनामा महाधिवेशनमा जानुपर्ने उनले बताए । ‘हामी अबको सात महिनाभित्रमा अधिवेशनमा जाँदै छौँ’, अध्यक्ष बस्नेतले भने, ‘तीन जना, ९ जना, बीस जना, ९५ जना जति भएपनि तरुण दलको अधिवेशन हुन्छ ।’
तरुण दलका नेता तथा कार्यकर्ताको मनोवल गिर्न नहुने बताएका अध्यक्ष बस्नेतले भने, ‘संगठनका लागि लड्ने छौँ । विपक्षीले तरुण दललाई नै हो आक्रमण गर्ने । प्रहरी प्रशासन र राज्य पक्षसँग लड्नेभन्दा अर्को बिकल्प छैन । भोलिका दिनमा अझै ठूलो आन्दोलन गर्नुछ । त्यो बाहेक बिकल्प छैन ।’
उनले भने, ‘तरुण दलको पदमा बसेर लड्न नसक्ने हो भने पद छाडिदिए हुन्छ । डर, धम्की, त्रास अन्त्य गर्ने हो भने लड्ने हो ।’
तरुण दलका अध्यक्ष बस्नेतले देशमा राज्य आतंक बढेको बताए । ‘सत्ताको आडमा नेकपाका सांसदले ललितपुरका टौखेलमा आफ्नो रिसोर्टमा जान जनताको जग्गा मिचेर बाटो बढाउँदै छन् । टौखेलका घरहरू भत्काउँदै छन्’, उनले भने, ‘नवराज सिलवाल र उहाँको साथी मिलेर रिसोर्ट खोल्नु भएको रहेछ । रिसोर्टसम्म लैजानको लागि सार्वजनिक जग्गाबाट बाटो नल्याइकन आमजनताको जग्गालाई मिच्ने काम भएको छ ।’
‘घटनाको विरोध गर्दा हाम्रा साथीहरूलाई रातारात पक्राउ गर्न खोजिएको छ । हामी जनताको पक्षमा छौँ’, उनले चेतावनीयुक्त शैलीमा भने, ‘आफ्नो रिसोर्टमा बाटो बनाउन जनताको जग्गा मिच्न पाइँदैन । चाहे नेकपाको सांसद होस्, चाहे पूर्व डिआईजी होस् हामी मान्छैनौँ ।’
हरेक ठाउँमा संविधान मिच्ने काम भएको भन्दै अध्यक्ष बस्नेतले खड्गप्रसाद ओली अवैधानिक बाटोबाट प्रधानमन्त्री बनेको दाबी गरे ।
‘सांसदको सपथ नलिइकनै खड्गप्रसाद ओलीजी संविधान मिचेर प्रधानमन्त्री बन्नुभएको छ’, उनले भने, ‘जुनदिनदेखि ओलीजी प्रधानमन्त्री बन्नुभयो त्यस दिनदेखि संविधान मिच्ने कार्य भएको छ ।’
चिनियाँ कम्युनिस्ट पार्टीको सी विचारलाई नेपालमा भित्र्याएर कम्युनिस्ट शासन ल्याउन खोजिएको उनले बताए । तरुण दलका अध्यक्ष बस्नेतले कम्युनिस्ट शासन ल्याउन पूर्वएमालेले मानवअधिकार उल्लंघन, अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गर्ने लगायतका कार्य भैरहेको बताए ।
अध्यक्ष बस्नेतले खानेपानी मन्त्री बिना मगरेले मेलम्ची खानेपानी आयोजनाको ठेकेदारबाट अर्बौं रुपियाँ कमिशन कुम्ल्याएको आरोप पनि लगाएका छन् ।
उनले वर्तमान सरकार वाइडबडी, बालुवाटारको सरकारी जग्गा काण्ड, एनसेलको कर छुट प्रकरणमा संलग्नता रहेको भन्दै तरुण दलले एकएक हिसावकिताब खोज्ने चेतावनी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया