तनहुँ कांग्रेसको विवाद अन्त्य, पौडेल निकटको कार्यसमितिले बैधानिकता पायो

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ जिल्लामा देखिएका पार्टीभित्रको विवाद अन्त्य गरेको छ ।

पार्टी मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले बैकुण्डनाथ न्यौपानेले नेतृत्व गरेको कार्यसमितिलाई बैधानिक दिने निर्णय गरेको हो । न्यौपाने वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् ।

तनहुँ जिल्लामा देखिएको कांग्रेसभित्रको विवाद र सो सम्बन्धमा तयार पारिएको प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिको बैठकमा अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले प्रस्तुत गरेका थिए । सोही प्रतिवेदनलाई कार्यसमितिले सर्वसम्मत पारित गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीवीच विवाद हुँदा तनहुँ कांग्रेस दुई फ्याक भएको थियो ।

नेपाली कांग्रेसको अनुशासन समितिको सिफारिसमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले जोशी निकटको तनहुँ कांग्रेसलाई अबैधानिक घोषणा गर्दै नेता पौडेल निकटको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको हो ।

नेपाली कांग्रेसले गोविन्दराज जोशी निकटको कांग्रेस वा गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

कांग्रेसको बुधबारको निर्णयसँगै पार्टीभित्र ठूलो योगदान दिएका गोविन्दराज जोशीको राजनीतिक अवसान भएको छ । वरिष्ठ नेता पौडेलले जोशीलाई कांग्रेसबाट कारबाही गरेर हटाउन खोजेका थिए । पौडेल सफल भएका छन् ।

‘तनहुँ जिल्लामा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरू रहेको स्पष्ट छ’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यसमितिहरू बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएको छ ।’

‘नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरू यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावलीअनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरीसहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउनु पर्नेछ’, विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक आङ्दम्बेबाट समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बुधबारको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने गरेर स्थगित भएको छ ।

000

श्रावण २९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ —

१. केन्द्रीय अनुशासन समितिका संयोजक श्री भीष्मराज आङ्दम्बेबाट समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत ।

२. वि.स. २०१५ सालको प्रथम आम निर्वाचन देखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह “रुख” र तल माथि रातो पृष्ठभूमि र विचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल श्री शेरबहादुर देउवा सभापति रहनु भएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् ।

यसै सन्दर्भमा तनहुँ जिल्लामा श्री बैकुण्ठनाथ न्यौपाने सभापति र श्री जितप्रकाश आले कार्यवाहक सभापति रहनु भएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट गर्दै, उक्त कार्यसमितिहरु बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरु यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने ।

साथै, तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र ११ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

समवेदना

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. १७ को वडा सभापति बालबोध यादवको पिता ७५ वर्षीय बुझाउन यादवको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

शोक विज्ञप्ति

नेपाली कांग्रेस प्यूठान जिल्लाका सक्रिय व्यक्ति ६६ वर्षीया धनकला गुरुङको आज भारतको चण्डीगढमा उपचारका क्रममा निधन भयो । स्वर्गीय गुरुङ प्यूठानको तत्कालीन दाङवाङको सिर्सेनीका पूर्व वडा इकाई सचिव र २०५४ को स्थानीय निर्वाचनमा वार्ड सदस्य हुनुहुन्थ्यो ।

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Published : Wednesday, 2019 August 14, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया