कम्युनिस्ट सरकारका मन्त्रीलाई पक्राउ गर्न आदेश, मन्त्रीको भागाभाग

काठमाडौं । कर्णाली प्रदेशका कम्युनिस्ट सरकारका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न मंगलबार आदेश दिएको हो ।

कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको छ । मन्त्री खत्री आफैं ठेकेदार हुन् ।

५५–५५ लाख रुपियाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।

बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।

प्रहरीले प्रतिवादी कायम गरी पठाइएका मन्त्री खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नदेखिएपछि यस्तो आदेश जारी भएको प्रवक्ता मोहन सुवेदीले बताए ।

मुद्दामा प्रतिवादी बनाइए पनि मान्छे पक्राउ नपरेकाले मन्त्री भएको भए तीन दिनभित्र उपस्थित गराउने आदेश भएको छ ।

साधारण व्यक्ति भए अदालतले आफैं पक्राउको म्याद जारी गर्ने गर्छ। सार्वजनिक पद धारण गरेको व्यक्ति भएकालाई पक्राउ गर्न कठिनाइ नरहेका कारण तीन दिनको आदेश जारी भएको प्रवक्ता सुवेदीले बताए । श्रेष्ठको हकमा भने अदालतले म्याद जारी गर्नेछ ।

Published : Tuesday, 2019 August 13, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया