दुईतिहाइको कम्युनिस्ट सरकारमाथि कांग्रेसकी सांसद देवकोटाको ‘हमला’
काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारी जग्गामा आफ्नो केन्द्रीय कार्यालय राखेको भन्दै सो कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेकी छिन् ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठका विशेष समयमा बोल्दै सांसद देवकोटाले सरकारी जग्गामा नेकपाको केन्द्रीय कार्यालय राखिएको हो वा होइन सो विषयमा जानकारी माग गरिन् । उनले नेकपाको कार्यालय सरकारी जग्गामा रहेको विषयमा छानविनको माग पनि गरिन् ।
‘नेकपाको कार्यालय सरकारी जग्गामा भएको कुरा के हो ? सत्य हो भने कानून बनाउनेले कानून परिपालन गर्दैन भने त्यो उपहास हो’, उनले भनिन्, ‘सानालाई ऐन ठूलालाई चैन भन्ने चरितार्थ नेकपाले गरेको छ ।’
नेपाली कांग्रेसकी सांसद देवकोटाले बालुवाटारको सरकारी जग्गा नै नेकपाका एकजना शीर्ष नेताले आफ्नो नाममा गराएको भनेर छानविन चलिरहेका बेला नेकपाकै केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको कुरा आएको भन्दै छानविनको माग गरिन् ।
‘बालुवाटारको ललिता निवासको सरकारी जग्गा सत्तारुढ दलको नेताको नाममा छ भन्ने कुरा आएको छ’, उनले भनिन्, ‘नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको कुरा आएको छ । भोगाधिकार पाएको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले ३ आना जग्गालाई नेकपाको केन्द्रीय कार्यालयका लागि भाडामा लगाएर कानून र सहमति उल्लंघन गरेको छ ।’
नेपाली कांग्रेसकी सांसद देवकोटाले कानूनअनुसार सरकारी जग्गा भोगचलन गर्न पाएको प्रतिष्ठानले तेस्रो पक्षलाई भाडामा दिन नपाइने बताइन् ।
सत्तारुढ नेकपाले सत्ताको आडमा धुम्रबाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको घर जग्गा भाडामा लिएर केन्द्रीय कार्यालय राखेको छ । यो समाचार आएपछि नेकपाको विरोध हुँदै आएको छ ।
नेपाली कांग्रेसकी सांसद देवकोटाले दाङ जिल्लाको विकास निर्माणमा लापरबाही भएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
‘बबै नदीदेखि तुलसीपुरसम्मको सडकको सम्झौता भएको छ महिना पुगिसक्दा पनि कार्य प्रारम्भ भएको छैन’, उनले भनिन्, ‘तत्काल काम प्रारम्भ होस् ।’
उनले भनिन्, ‘तुलसीपुरको टरीगाउँ विमानस्थललाई स्तरउन्नती गरी ईन्धन डिपोसहित ठूला विमान चलाउने आश्वासन भएको डेढ वर्ष भइसक्यो । ईन्धन डिपो ल्याउने कुरा कहाँसम्म पुगेको छ ?’ देवकोटाले सत्तापक्षले दिएका आश्वासन कार्यान्वयन हुनुपर्ने अन्यथा झुठका कुरा बोलेर जनता झुक्काउन नपाइने बताइन् ।
सांसद देवकोटाले भैरहवामा बुद्धका मूर्ति फुटाउनेलाई कारबाही नभएको भन्दै आक्रोश जनाइन् ।
‘बुटवलदेखि भैरहवा आउँदै गर्दा तिलोत्तमा नगरपालिकाको शंकर नगरदेखि भैलुजासम्मको लुम्बिनीको आभास देखाउने गरी बुद्धका मूर्ति राखिएको थियो’, उनले भनिन्, ‘पाँच वटा मूर्ति तोडिएका छन् । छरपस्ट अवस्थामा छन् । गौतमबुद्ध हाम्रो धरोहर हो ।’
उनले भनिन्, ‘त्यस्ता अवाञ्छनीय क्रियाकलापमा संलग्नलाई सरकारले किन पक्राउ गर्न सकेको छैन ? यस्ता कार्य गर्नेलाई सरकार के हेरेर बसेको छ ? देशमा सरकार छ कि छैन ? कडा कारबाही होस् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया