दुईतिहाइको दम्भले कम्युनिस्टहरूले आँखा देख्न छाडेः देउवा

स्याङ्जा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको कम्युनिस्ट सरकार विपक्षीलाई पेलेर अघि बढेको बताएका छन् ।

संविधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमलप्रसाद पंगेनीको प्रथम वार्षिक सभालाई पंगेनीको जन्मथलो भीरकोटमा सोमबार सम्वोधन गर्दै सभापति देउवाले केपी ओलीलाई दुईतिहाइको दम्भले आँखा नेदेख्ने अवस्थामा पुर्‍याएको बताएका हुन् ।

उनले नागरिकका मौलिक हकको रक्षा गर्दै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न नेपाली कांग्रेसले आवाज उठाउने बताए ।

लोकतान्त्रिक व्यवस्था, वाक स्वतन्त्रता र मानवअधिकारका पक्षमा नेपाली कांग्रेस विचलित नहुने देउवाको भनाइ थियो ।

कार्यक्रममा पूर्वउपसभापति एवं पूर्व उपप्रधानमन्त्री र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य धनराज गुरुङ र गगन थापाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिए ।

उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो । तर, गणतान्त्र भनेको मनपरीतन्त्र होइन । गणतन्त्रको नाममा भ्रष्टाचार गर्न पाइँदैन ।’

‘भ्रष्ट नेताहरूकै कारण गणतान्त्रिक नेपालमा जनताले दुःख पाईरहेका छन्’, नेपाली कांग्रेसका नेताहरूले भनेका छन् ।

Published : Tuesday, 2019 August 6, 6:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया