कम्युनिस्ट ‘अरिँगाल’हरूमाथि वर्षिए गगन, धेरैले गरे प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले प्रत्येक वर्ष नयाँ वर्षमा पूरा नहुने नयाँ संकल्प र सपनासाथ शुरू गर्दै रुने क्यालेण्डरको तालिका नबदलिकन देश र जनता पीडाबाट मुक्त नहुने बताएका छन् ।
कांग्रेस र राजपाद्धारा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा भाग लिने क्रममा थापाले भने, ‘प्रत्येक वर्ष नयाँ वर्षमा पूरा नहुने नयाँ संकल्प र सपनाका साथ हामी शुरू गर्छौं र हाम्रो एउटा रुने क्यालेण्डर छ ।’
उनले भने, ‘जेठ, असारमा विकास खर्च भएन भनेर वा छोटो समयमा भयो भनि हामी रुन्छौँ ।’
‘साउनमा हामी सार्वजनिक शिक्षाको अवस्थाका बारेमा दशैँमा महंगीको बारेमा रुन्छौँ भने, प्रत्येक वर्षको श्रावण र भदौ वर्षा र बाढी पहिरो पीडितहरुको निम्ति रुनका लागि छुट्याएका छौँ’, उनले भनेका छन् ।
उनले भने, ‘यो तालिका बदल्ने हो भने, हामीले काम गर्ने तरिका नबदलीकन हुँदैन भन्दै गरिरहेका केही कामहरू छोड्नु पर्नेछ र नगरिरहेका केही कुराहरू गर्नुपर्छ ।’
‘के गर्ने भन्ने सन्दर्भमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जलवायु परिवर्तन विज्ञानसम्मत नभएको भन्ने सुविधा भएको थापाले बताए । उनले नेपालीसँग यो सुविधा नभएको बताउँदै जलवायु परिवर्तन नेपालको चासोको विषय रहनै पर्नेमा जोड दिएका छन् ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिरहँदा पनि पीडितहरुको संख्या थपिइरहेको बताउँदै उनले कुनै ठाउँ अछुतो नभएको बताए ।
मधेस बाढीले सबैभन्दा बढि पीडित भएको र पहाडको पीडा पनि कम नभएको र पीडितको अवस्था उस्तै रहेको नेपाली कांग्रेसका सांसद थापाले बताए ।
यसक्रममा विपक्षी दलको नेतादेखि विभिन्न सांसदले विभिन्न भागमा गएर फर्किएपछि प्राप्त सन्देशको सार एउटै रहेको उनले बताउँदै भने, ‘सरकार देखिएन, सरकार भेटिएन, सरकार सबै ठाउँमा पुग्ने इमान्दार प्रयास गरोस्, सरकारको यो प्रयासमा हाम्रो साथ रहन्छ । रहनु पनि पर्छ हामी सबै सरकारसँग रहन चाहन्छौँ ।’
काठमाडौंमा भूकम्प गएको बेला मधेसका नागरिकहरूले गरेको सहयोगको स्मरण गर्दै पहाडका पनि कतिपय ठाउँका नागरिकहरूले स्मरण गरेर काठमाडौंमा जो बाढी र पहिरोबाट प्रभावित छैनन् उनीहरूले दुःखमा परेका नागरिकको सहयोगका लागि अपील गरेका छन् ।
प्रकृतिसँग सहअस्थित्वलाई नजरअन्दाज गरी मधेस, पहाड, उपत्यकामा जे विकास भनेर गरिएको छ त्यो विकास नभइ विनास भएको बताउँदै उनले त्यसलाई अब रोक्ने बेला आएको बताए ।
‘विकासको यो ढाँचालाई हामीले बदल्नै पर्छ’, उनले भने, ‘हामीले बनाएका केही पूर्वाधारहरुलाई हामीले बदल्नु र भत्काउनु पर्नेछ भने केही पूर्वाधारहरू तत्काल बनाउनुपर्नेछ ।’
सीमापारी बाँध बाधियो र त्यसको कारण डुबान पर्यो भन्ने कुरा प्रत्येक वर्ष हामीले भन्दै आएको उनले बताए ।
यो पटक संकल्प गरी सरकारले यसमा पहलकदमी गर्न र सिंगो संसद यस कुरामा एकठाउँमा उभिनुपर्छ र यो विषयको हल यो पटक हामीले खोज्नै पर्ने उनले बताएका छन् ।
‘प्राधिकरणको ऐन बनायौँ, यसलाई क्षमता र स्रो हामीले उपलब्ध गराउनु पर्छ र म अन्त्यमा यति नै आग्रह गर्न चाहन्छु, यो विषय यसपटक लगातार छलफल गरौँ । अहिलेलाई राहत, उद्दार र पुनस्थापनामा जुटौँ’, उनले भने ।
गृहमन्त्री रामबहादुर थापाले मंगलबार पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘गृहमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु, हिँजो एउटा सन्दर्भमा भन्नु भएको रहेछ, बलत्कार हिँजो पनि भयो, आज पनि हुन्छ र भोलि पनि रहन्छ, कृृपया बाढी पहिरोको सन्दर्भमा त्यसो नभनिदिनु होला । यो बेलामा हामी सरकारलाई साथ दिन चाहिरहेका छौँ । सरकारले लिड गरोस् हामी साथ दिन्छौँ । अर्को वर्ष कम्तिमा यो अवस्था आउन नदिने हो भने, यो राहत पुनस्थापनापछि हामी छलफल गरौँ अर्को वर्षलाई नकुरौँ ।’
सदन अवरोध भएको विषयमा सत्तापक्षले लगाएको आरोपप्रति लक्षित गर्दै उनले भने, ‘एउटा अलमल लाग्यो, सदनको कारबाही कसले रोक्यो भन्ने बारेमा सम्भवत् सत्तासिन पार्टीका प्रधानमन्त्री र अन्य नेताहरुले जानकारी गराउनु नभएको पाइयो, त्यसैले सभामुखले अन्तिममा यत्रोदिन सदनको कारबाही कसले रोकेको थियो भन्ने जानकारी गराएर उहाँहरूको सूचनाको हक उपलब्ध गराइदिन आग्रह छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया