पूर्वमाओवादीले ओलीका खास मान्छेलाई रोक्ने, खुमलटारकाे याेजनाले बालुवाटार झस्कियाे

काठमाडौं । पूर्वएमालेले बालुवाटारमा शुक्रबार र शनिबार दुई दिन बैठक गरेको तेस्रो दिन पूर्वमाओवादीका नेताहरूले पनि खुमलटारमा अलग बैठक गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले आइतबार ललितपुरको खुमलटारस्थित निवासमा पूर्वमाओवादीका नेताहरूको बैठक राखेका हुन् ।

बैठकमा एमालेसँग भएको पार्टी एकीकरण र विभागहरूमा भएको भागबण्डाका बारेमा छलफल भएको एक नेताले बताए ।

खुमलटार बैठकले आफूहरूले पाएको विभागको नेतृत्वबारे मोटामोटी टुंगो लगाएको छ ।

पूर्वमाओवादी नेताहरूको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारीमा बस्न सुझाव दिएको थियो । तर, श्रेष्ठले स्कुल विभाग नछोड्ने बताएका छन् ।

स्कुल विभागमा पूर्वएमालेका नेता ईश्वर पोखरेलले पनि दाबी गर्दै आएका छन् । स्रोतका अनुसार नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्कुल विभागको जिम्मेवारी पोखरेललाई दिने इच्छा जनाएका छन् ।

पोखरेलले ‘जनताको बहुदलीय जनवाद’लाई दमदार तरिकाले बचाउ गर्दै आएका छन् । जबजको बचाउ गर्ने नेतालाई कुनै पनि हालतमा स्कुल विभाग दिन नहुने पूर्वमाओवादी नेताहरूको खुमलटार बैठकमा सहमति भएको बुझिएको छ ।

पोखरेललाई रोक्न पूर्वमाओवादीले स्कुल विभागलाई पार्टी अध्यक्षहरूले नै राख्नुपर्ने प्रस्ताव समेत आएको छ ।

स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन ।

पार्टीका दुई अध्यक्षबीच बारम्बार भइरहेका संवादमा महत्वपूर्ण छ विभागमध्ये संगठन, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान पूर्वएमाले तथा आर्थिक र प्रचार विभाग पूर्व माओवादी केन्द्रले लिने अनौपचारिक समझदारी बनेको थियो ।

नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन् ।

Published : Sunday, 2019 July 21, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया