सगरमाथाको काखमा पाँचौँ योग दिवस मनाइयो
काठमाडौं । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सगरमाथाको आधार शिविरमा योग गरिएको छ ।
आइतबार बिहान नेपालका लागि भारतीय राजदूत मनञ्जीवसिंह पुरीसहितको टोलीले आधार सिविरमा योग गरेको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस सगरमाथाको काखमा मनाइएको छ ।
योग दिवस मनाउन नेपालका लागि भारतीय राजदूत पुरी र राजदूतावासका पदाधिकारीहरू सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सोलुखुम्बु पुगेका थिए ।
राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा योग कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
दूतावासका अनुसार समुद्री सतहदेखि १७ हजार ६०० फिट उचाइँमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग दिवस मनाइएको छ ।
भारतको गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरूले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेको दाबी गरेका छन् ।
शर्माले दुई पटकसम्म सगरमाथाको सफल आरोहणसमेत गरिसकेको दूतावासले जनाएको छ ।
योग शिविरको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्त्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना रहेको दूतावासले जनाएको छ ।
योग शिविरमा जिल्लाका महिला तथा युवा समूहका सदस्यहरू, खुम्जुङ र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ र खुन्देका महिला तथा युवा समूहको सहभागिता रहेको थियो ।
शिविरमा सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार योग दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरूले पनि सहभागिता जनाएका थिए ।
भारतीय दूतावासले आइतबार काठमाडौंको लैनचौरस्थित दूतावासको हातामा योगसबन्धी विशेष कार्यक्रमको पनि आयोजना गरेको छ ।
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगका सम्बन्धमा दिएको सन्देश देखाइएको थियो ।
मोदीले सन्देशमा योगको फाइदा र यसको महत्वबारे सन्देशमा प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीको उल्यख्य उपस्थिति रहेको थियो ।
विद्यार्थीले कार्यक्रममा योगका विभिन्न आशन प्रस्तुत गरेर देखाएका थिए । कार्यक्रममा योगासँग सम्बन्धित विभिन्न संघसंस्थाले पनि योगका विभिन्न आशन प्रस्तुत गरेका छन् ।
सोही अवसरमा राजदूत पुरीले योगा सिक्दै गरेका स्कुले विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरेका छन् ।
कार्यक्रममा पाँच सय बढी व्यक्तिहरूको उपस्थिति रहेको भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रमलाई टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ र पतञ्जली योगपीठले सहयोग गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया