देशमा समृद्धि आउने कुरा बजेटमा कतै देखिएनः अनिता देवकोटा
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो दक्षता र क्षमताअनुसारको बजेट ल्याउन नसकेको टिप्पणी गरेकी छिन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सासद देवकोटाले अर्थमन्त्री डा.खतिवडाले ०७६–७७ को बजेट कुहिरोमा अलमलिएको बताइन् ।
‘अर्थमन्त्रीले आफ्नो विज्ञताको उपयोग गर्न सक्नु भएको छैन’, उनले भनिन्, ‘सरकारले जोखिम मोलेर भएपनि नयाँ कोर्षमा लैजानुपर्ने थियो । नयाँ आयाम खोल्न सक्नुपर्ने थियो ।’
‘यथास्थितिवादी र सबैलाई रिझाउने बजेट प्रस्तुत गर्नाले सरकारले पाएको ऐतिहासिक अवसरलाई पनि गुमायो । यसले राष्ट्रिय समृद्धिको दीर्घकालीन ढोका खोल्न सक्दैन’, नेपाली कांग्रेसकी सांसद देवकोटाले भनिन्, ‘बजेट यस वर्ष १२ खर्ब मात्रै खर्च हुन्छ भनिएकोमा आगामी वर्षको बजेटको आकार बढेर १५ खर्ब ३२ अर्ब पु¥याउनु अस्वभाविक छ ।’
उनले बजेटको क्षमता हेर्ने हो भने यो सालको अनुमानित खर्च १२ खर्बमा १५ प्रतिशत वृद्धि भएको उल्लेख गरिन् । ‘बजेटको स्रोत हेर्ने हो भने एक हजार अर्ब राजश्व, दुई सय अर्ब विदेशी ऋण, पचास अर्ब अनुदान र १ सय ७५ अर्ब स्वदेशी ऋण देखिन्छ ।’
‘यसरी विकास बजेट धेरै हिस्सा स्वदेश र विदेशी ऋणमा भरपर्ने अवस्था राष्ट्रका लागि ज्यादै चिन्ताजनक रहेको छ’, उनले भनिन्, ‘अरुसँग ऋण लिएर हामीले पैसा बाँड्दा देशको समृद्धि हुन सक्छ र ? बजेट वित्तीय अनुशासन र मितव्ययिताबाट चुकेको छ । विचलित भएको छ ।’
‘बजेटमा सुधार गर्न सक्ने ठूलो अवसर सरकारलाई हुँदा हुँदै पनि सस्तो लोकप्रियताका आधारमा थामथुम गर्ने सबैलाई खुसी बनाउने आधारमा बजेट विनियोजन गरिएको छ’, सांसद देवकोटाले बताइन् ।
‘तलव वृद्धि, वृद्ध भत्ता सामाजिक सुरक्षा जस्ता शीर्षकहरूमा रकम विनियोजन गरी आफ्ना कमजोरीहरूलाई लुकाएर वाहावाह कमाउने प्रयत्नमा यो बजेट देखिएको छ । नयाँ कार्यक्रम ल्याउन खोजिएन’, उनले भनिन्, ‘मुद्रास्फिती बढेर सर्वसाधारणले धान्न नसक्ने गरेर महँगी बढ्ने सम्भावना छ । वित्तीय अनुशासन र मितव्ययिताबाट बिचलित छ ।’
‘बजेटले नेपाली जनताको काँधमा ठूलो ऋण थुपारेको छ । दुई तिहाइको सरकारदे दीर्घकालीन आधारमा बजेट ल्याउन सकेन’, उनले भनेकी छिन्, ‘रणनैतिक महत्वको नयाँ र ठूला दीर्घकालीन आयोजनामा बजेट विनियोजन गरिएको छैन ।’
कम्युनिस्ट सरकारको यो बजेटले हरेक नेपालीको काँधमा १६ हजार ऋण बोकाएको उनले बताइन् ।
‘यो बजेटले राष्ट्रिय गौरवका योजनाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जो राप्तीको आस्था र भरोसाको केन्द्रलाई यो बजेटले सम्बोधन गर्न सकेको छैन’, नेपाली कांग्रेसकी सांसद देवाकोटाले भनिन्, ‘बारम्बार सदनमा यसबारेमा सरकारको ध्यानाकर्षण, मन्त्रीज्यूको ध्यानाकर्षण गरिरहँदा पनि पूर्ववर्ती सरकारले ल्याएका धेरै महत्वपूर्ण योजनाहरू, कार्यक्रमहरू, स्वास्थ्य जस्तो सम्वेदनशील कुराहरूमा पनि यो बजेटले बेवास्ता गरेको छ ।’
‘मलेसियाको वैदेशिक रोजगारीबाट बञ्चित भएका तर, रोजगारी खुलाउने सरकारको पहल देखिएको छैन’, उनले भनेकी छिन्, ‘पाँच लाख युवाहरूलाई रोजगारी सिर्जना गर्ने भनिएको छ । यसको पनि स्पष्ट आधारहरू देखिएको छैन । आर्थिक वृद्धिदरमा पनि लक्ष्यमा पुग्न सक्ने आधार देखिदैन ।’
नेपाली कांग्रेसकी सांसद देवकोटाले समृद्धिको गीत गाएर देशमा समृद्ध हुन नसक्ने बताइन् ।
संघीयताप्रति यो बजेट उदाशीन रहेको उनले बताएकी छिन् । ‘प्रदेशलाई मिचेर बजेट ल्याएको छ । प्रदेशलाई छ प्रतिशत मात्रै बजेट’, कांग्रेसकी सांसद देवकोटाले भनिन्, ‘१४ प्रतिशत स्थानीय तहलाई बजेट । पुरानो रोगले बजेट ग्रसित छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत