क्रिश्चियन विश्वविद्यालयको विद्यावारिधी लिने ओलीलाई कांग्रेसले दियो बधाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियाको विश्वविद्यालयले दिएको विद्यावारिधीप्रति कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई व्यंग्यात्मक बधाई दिएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भरत शाहले क्रिश्चियन धर्म प्रचारलाई बढावा दिएको भन्दै आलोचना गरेका हुन् ।

दक्षिण कोरियाको काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई यसै हप्ता मानार्थ विद्यावारिधीको उपाधि दिएको थियो ।

प्रधानमन्त्रीलाई विद्यावारिधी दिएपछि उक्त विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयसँग पनि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको छ ।

ओलीको सार्वजनिक रुपमा आलोचना भइरहेको छ । नेपाली कांग्रेसका सांसद शाहले भने, ‘साउथ कोरियाको धर्म प्रचार गर्ने विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएकोमा प्रधानमन्त्रीलाई बधाई दिन चाहन्छु ।’

प्रधानमन्त्री नै धर्म प्रचारमा लागेको भन्दै सोमबारको बैठकमा नेकपाका नेता भीम रावलले समेत आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओलीको आलोचना गरेपछि नेकपाका सांसद महेश बस्नेतले जवाफ दिएका छन् । बस्नेतले प्रधानमन्त्री साझा भएकाले क्रिश्चियन धर्म प्रचारक संस्थाले दिएको उपाधि लिन ठीक भएको दाबी गरेका छन् ।

‘केही सांसद ज्यूहरू अनावश्यक विवाद सिर्जना गर्न खोज्दै हुनुहुन्छ’, नेकपाका सांसद बस्नेतले भने, ‘धर्म निरपेक्ष देशमा क्रिश्चियन धर्मको विरोध गर्नु उचित हो र ? केही माननीयज्यूहरू क्रिश्चियन धर्मको विरोधी हुनुहुन्छ ।’

Published : Tuesday, 2019 June 4, 3:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया