मुख्यमन्त्रीको कार्यक्रमस्थल नजिक बम पड्कियो

कालिकोट । कालिकोट जिल्लामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी भएको कार्यक्रम नजिकै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम पड्काएर बिथोल्ने प्रयास गरेको छ ।

बुधबार मुख्यमन्त्री शाहीले ११औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उदघाटन गरेका छन् । सोही कार्यक्रमलाई बिथोल्ने गरेर एक किलोमिटर टाढा नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको कालिकोट प्रहरीले जनाएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलसहितका व्यक्तिहरू सहभागी रहेका थिए ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

विप्लव नेतृत्वको नेकपाले कार्यक्रम स्थलदेखि एक किलोमिटर आसपासमा बम पड्काएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मुख्यमन्त्री शाहीलाई हतारहतारमा कार्यक्रमस्थलबाट महाबै गाउँपालिका फर्काइएको थियो ।

काठमाडौंसहित देशका विभिन्न स्थानहरूमा बम पड्काएर आतंक मच्चाउँदै आएको विप्लव नेतृत्वको नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको कार्यक्रम विथोल्ने प्रयास गरेका छन् ।

यसअघि रोल्पामा पनि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको कार्यक्रमलाई बिथोल्ने प्रयास स्वरुप नेकपाले बम पड्काएका थिए । पोखरेलको कार्यक्रमभन्दा केही टाढा पड्काइएको बलमे कुनै क्षति पुगेको थिएन ।

मुख्यमन्त्रीहरूका कार्यक्रमलाई लक्षित गरेर विप्लव नेतृत्वको नेकपाले बम पड्काउन थालेपछि सुरक्षाकर्मीहरूलाई सुरक्षा स्थापनामा चुनौती थपिएको छ ।

Published : Wednesday, 2019 May 29, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया