गोकुल बास्कोटाले उदण्ड व्यवहार सुधार्नु पर्छः रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले तानाशाहरूले जहिले पनि स्वतन्त्र प्रेस र न्यायपालिकामाथि धावा बोल्ने गरेको बताएका छन् ।
नेपाल प्रेस युनियनको २८औँ वार्षिक उत्सवका अबसरमा काठमाडौंमा सोमबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले स्वतन्त्र प्रेस र न्यायलयमाथि कम्युनिस्ट सरकारबाट हुने आक्रमणको कांग्रेसले सहेर नबस्ने बताए ।
‘संसारमा तानाशाहले सबैभन्दा पहिला दुई वटा कुरा गर्छ । पहिलो प्रेस र दोस्रो न्यायपालिकामाथि आक्रमण गर्छन्’, उनले भने, ‘कांग्रेसले पनि प्रेस नियन्त्रण ग¥यो भन्ने चर्चा यहाँ चल्यो । यदि सबै कुरा कांग्रेसले ग¥यो भन्ने हो भने नयाँ सरकार आएको औचित्य हुँदैन ।’
‘संविधान निर्माण गर्ने बेला अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । उहाँले पनि पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्नुभएको थियो’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘अहिलेको राष्ट्रपति पनि त्यस बेला सांसद हुनुहुन्थ्यो । उहाँ पनि प्रेसलाई पूर्ण रुपमा स्वतन्त्र राख्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो ।’
तर, अहिले आएर सरकारले प्रेसलाई नियन्त्रण गर्न मिडियो काउन्सिल विधेयक ल्याउने तयारी भएको भन्दै उनले कांग्रेसले यो विषयलाई कुनै पनि हालतमा नमान्ने बताए ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको आलोचना गरेका उनले बास्कोटाले सरकारको बचाउमा बारम्बार उदण्ड व्यवहार देखाउने गरेको बताए । बास्कोटाले आफ्नो उदण्ड व्यवहारमा सुधार नगरे आफैलो नोक्सान हुने उनले चेतावनी दिए ।
‘अहिलेको सञ्चारमन्त्रीले बारम्बार उदण्ड रुपले सरकारको बचाउ गर्नु हुन्छ’, खतिवडाले भने, ‘एउटा ग्रुप फोरको गार्डले सेक्युरिटीमा जति सेक्युरिटी गर्छ त्यो बराबरको सरकार र प्रधानमन्त्रीको सेक्युरिटी बास्कोटाजीले गर्नुभएको छ ।’
सञ्चारमन्त्री बास्कोटाले पत्रकारहरूलाई भित्र जान बन्देज लगाउने काम गरिएको समेत बताएका छन् ।
उनले पार्टीभित्रको गुट र उपगुटले कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।
वर्तमान सरकारले संविधानको उल्लंघन गरेको पनि खतिवडाले बताए । ‘पार्टीभित्र गुटको होइन एकताको सन्देश प्रवाह गर्दै देश व्यापी रुपमा आक्रमणलाई चिरेर जानुपर्छ’, खतिवडाले भने, ‘एउटै पार्टीको व्यक्ति सभामुख र उपसभामुख हुने कुरा संविधानमा छैन । कानूनी रुपमा संविधानको खिल्ली उडाउने काम भएको छ । दुई तिहाइको दम्भमा प्रेसमाथि आक्रमण भएको छ ।’
युवा नेता खतिवडाले गुट–उपगुटको कुरालाई छाडेर पार्टी बनाउन लाग्नुपर्ने बताए । ‘कांग्रेसभित्रको कुरा धेरै गर्न मन छैन । तर, गुट उपगुटका कारण पार्टीलाई समस्या बनाएको छ’, उनले भने, ‘कांग्रेसको संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ । त्यसपछि कांग्रेस मजबुद बन्नेछ ।’
कांग्रेसको जागरण अभियानले गाउँका जनताको पीरमर्का बुझ्न सजिलो भएको उनले बताए । ‘जागरण अभियानले कांग्रेसलाई फाइदा भएको छ’, उनले भने, ‘अभियानलाई अझै जीवन्त दिनुपर्ने अवस्था छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत