कांग्रेस सांसदहरूको प्रश्नले गृहमन्त्री छक्क, कँडेल पड्किँदा थापा मौन

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले दुई तिहाइको बहमतको कम्युनिस्ट सरकारले जनताले अनुभूति पाउने गरी शान्ति सुरक्षा दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोट र मृत्यु भएका तथा पाँचथरको हत्या काण्डका विषयमा जानकारी दिएपछि प्रतिप्रश्न गर्दै कांग्रेसका सांसदहरू वर्तमान सरकारले शान्ति सुरक्षा दिन नसकेको बताए । कांग्रेसका सांसदहरूले विप्लव नेतृत्वको नेकपाले मच्चाएको आतंक रोक्न नसकेको भन्दै आपत्ति जनाए । ‘विप्लवसँग विगतमा गृहमन्त्रीज्यू सँग सशस्त्र द्वन्द्व गर्नुभएको थियो’, कांग्रेसका सांसदहरूले भने, ‘कत उहाँहरूबीच तालमेल त छैन ?’

कांग्रेसका सांसदले राजधानीलगायत देशभरि बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुर्व्यवहारका घटना बढ्दै गएकामा कम्युनिस्ट सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले कम्युनिस्ट सरकारलाई हठ त्याग्न र विप्लवको नेकपालाई हिंसात्याग्न पनि सुझाव दिएका छन् ।

कांग्रेसका सांसदहरू पुष्पा भुसाल, डा.मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, मीना सुब्बा, भरतकुमार शाह, महेन्द्राकुमारी लिम्बु, पार्वती डिसी चौधरी, रंगमती शाही, देवेन्द्रराज कँडेल, राजेन्द्रकुमार केसी, उमा रेग्मी, लक्ष्मी परियार, सुजाता परियार, देवप्रसाद तिमल्सिना लगायतले गृहमन्त्री थापासँग जवाफ माग गरेका थिए ।

कांग्रेसका सांसदहरूले मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिँदै कञ्चनपुरकी निर्मला पन्त तथा पाँचथरका एकैपरिवारको हत्याको घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसका सांसदहरूको प्रश्नपछि जवाफ दिँदै गृहमन्त्री थापाले बम विस्फोट गराउनेहरू नागरिक नरहेको बताए । ‘बम बनाउँदै गर्दा प्राविधिक त्रुटि भएर बम विस्फोट भएको छ ।

प्रमाणसहित पक्राउ परेका छन् । शब्द चयनमा मेरो त्रुटि हुन सक्छ । बम विस्फोट गराउनेहरू सामान्य जनता होइनन्’, उनले भने, ‘बम विस्फोट गराउनेहरूबाट पक्राउ परेकाबाट पनि प्रहरीले प्रसस्त प्रमाणहरू फेला पारेको छ ।’

कांग्रेसका सांसदहरूले बम पड्काउने र सरकारबीच सहकार्य छ कि भनेर दिएको अभिव्यक्तिको गृहमन्त्री थापाले खण्डन गरे । उनले बम पड्काउने र गैरकानूनी गतिविधिहरूसँग कुनै पनि सहकार्य नहुने बताए ।

कांग्रेसका चर्का र गम्भीर प्रश्नहरूको जवाफ गृहमन्त्री थापाले सालिन रुपमा दिएका थिए । प्रधानमन्त्री खड्गप्रसाद ओलीले यसअघि संसदमा देखाए जस्तो व्यवहार गृहमन्त्रीले पनि देखाउँछन् कि भनेर आशंका भइरहेका बेला थापाले सालिन रुपमा जवाफ दिएपछि सबै आशंकाहरू खारेज गरिदिएका छन् ।

गृहमन्त्री थापाले जिज्ञासा राख्ने सबै सांसदहरूको एक–एक गरेर जवाफ दिएका थिए ।

अन्त्यमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री थापाका केही शब्दावली र अभिव्यक्तिमा पुनः आपत्ति जनाएका थिए । गृहमन्त्री थापाले कांग्रेसका सांसदहरू नै बम पड्काउनेहरूसँग सांठगाँठमा रहेको भनेपछि कांग्रेसका सांसद कँडेल पड्किएका थिए ।

उनले गृहमन्त्री थापाका आपत्तिजनक शब्दावली रेकर्डबाट हटाउन माग गरेपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए ।

Published : Monday, 2019 May 27, 3:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया