कम्युनिस्ट अधिनायकवादसँग लड्न कार्यकर्ताले साथ दिनुपर्छः राजु खनाल
दार्चुला । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद राजु खनालले देशमा कम्युनिस्टहरूको दम्भले गर्दा लोकतान्त्रिक मूल्य र मान्यताहरू कमजोर हुँदै गएको बताएका छन् ।
‘हिमाल, पहाड, तराई, मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’अन्तर्गत नेपाली कांग्रेस दार्चुलाले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले कांग्रेस नेतृत्वमा बनेको संविधानलाई कमजोर बनाउन कम्युनिस्टहरू सक्रिय भएको बताए ।
‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कमजोर बनाउन कम्युनिस्टहरू लागेका छन्’, उनले भने, ‘संविधान विरुद्धका क्रियाकपाल र विधेयकहरू ल्याएर दुई तिहाइको कम्युनिस्ट सरकारले मुलुकमा संकट निम्ताउन खोजेको छ ।’
कांग्रेसका युवा नेता खनालले संसदीय शासन प्रणालीलाई समाप्त पारेर कम्युनिस्टहरूले अधिनायकवाद ल्याउन खोजेको बताए । ‘कांग्रेसले कम्युनिस्टहरूको अधिनायकवादलाई ल्याउन दिने छैन’, उनले भने, ‘कांग्रेसका गाउँका कार्यकर्ताले कम्युनिस्टहरूसँग लड्न हामीलाई साथ दिनुपर्छ ।’
कार्यक्रममा दार्चुला कांग्रेसका सभापति ललित सिंह बोहराले कांग्रेस शीर्ष नेतृत्व मिल्नुपर्ने सुझाव दिए ।
नेपाली कांग्रेस दार्चुलाका उपसभापति ललित संह ठगुना, महाधिवेशन प्रतिनिधि उमेश खत्री, ब्यास गाउँपालिकाका पार्टी सभापति नरेन्द्र भट्ट, भान सिंह धामी, जिल्ला समन्वय समितिका सभापति करवीरबहादुर कार्की, शैलेशिखर नगरपालिकाका मेयर अमर सिंह धामी, महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, मालिकाअर्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी, दुँहु गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी, लेकम गाउँपलिकाका प्रवक्ता महेन्द्रराज जोशी, शिक्षक महासंघका केन्द्रीय सदस्य दौलत संह खाती, महिला संघ सदस्य राजु अवस्थी, कर्मचारी युनियनका सदस्य जगत धामी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत