छानविनको बहानामा प्रहरीको मनोवल गिराउने कार्य भयो, पर्खाल बनेर उभिए आईजीपी, गौरी आयोगको आलोचना
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले कानून बमोजिम राज्यका लागि दायित्व र जिम्मेवारी पूरा गर्दा प्रहरीको मनोवल गिराउने गरेर छानविनको नाममा हतोत्साहित गर्ने कार्य भएको टिप्पणी गरेका छन् ।
बिहीबार राति ईमेज टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आईजीपी खापुङ्गले पछिल्लो समय प्रहरीको मनोवल निकै कमजोर र खस्किएको बताए । उनले प्रहरीको मनोवल बढाउन मासु र भात खुवाएर नहुने बताए । प्रहरीको मनोवल उच्च बनाउने हो भने नीतिगत स्पष्टता हुनुपर्ने खापुङ्गले बताएका छन् ।
भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको छानविन आयोगले नेपाल प्रहरीलाई प्रमुख दोषी जस्तो गरेर गतिविधि गरिरहेका बेला आईजीपी खापुङ्गले आक्रोश पोखेका छन् । उनले प्रहरी कर्मचारीले कानून बमोजिम राज्यका लागि दायित्व पूरा गर्दा निरन्तर बयान दिएर कारबाही गर्दा त्यो प्रहरीको काम गर्ने इच्छा र मनोवल कसरी उच्च रहन्छ भनेर छानविन आयोगको गतिविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । आयोगको अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय पूर्वएआईजी विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी छन् । उनीहरूले प्रहरीमाथि निकै दवाव सिर्जना गरेर मनोवल गिराउने गरेर गतिविधि गरिरहेका छन् ।
उनले भने, ‘प्रहरीको मानसिकता र मनोवलको कुरा गरिरहनु भएको छ नी, प्रहरीको मनोवल उठ्न आवश्यक छ । प्रहरीको मनोवल खस्कियो, यसलाई मासु, भात खुवाउँ, यसलाई खसी काटिदिउँ अथवा एकजोर लुगा ल्याइदिउँ भन्ने हिसाबले प्रहरीको मनोवल उठ्ने वाला छन ।’
‘प्रहरीको मनोवल उठाउनलाई नीतिगत निर्णय हुनुपर्छ । नीतिगत स्पष्टता आवश्यक छ,’ आईजीपी खापुङ्गले भनेका छन्, ‘तपाई अहिले पनि देख्नु हुन्छ । धेरै ठाउँमा जुनसुकै घटना भएपनि सबैभन्दा पहिला छानविनको दायरामा प्रहरी पर्छ ।’
आईजीपी खापुङ्गले भने, ‘मुख्य चाहिँ यहि हो छानविनको सेन्टर नै प्रहरी बन्ने अवस्था भयो भने प्रहरी कसरी चल्छ ? प्रहरीको मनोवल कसरी उठ्छ । म प्रहरीका सिपाही, हवल्दा, अधिकृतहरूसँग बसेको छु । कुरा गरेको छु । ४८ घण्टासम्म पानी पनि खान नपाउँदासम्म तर, पनि काम त गरिरहेको छ नी पुलिसले । राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि कटिबद्ध थियो, आज पनि छ ।’
‘ती सिपाहीका आवाज कसले बोलिदिने ? जो भोकै लडेको छ र आज बयानको लागि उ धाइराख्नुपर्ने परिस्थिति आउँछ भने त्यसको आवाज कसले बोल्ने ? आईजीपीले बोल्नु पर्यो नी ?’ उनले प्रश्न गरेका छन् ।
‘कानून बमोजिमको अधिकार प्रयोग गर्दाखेरी, कानून बमोजिमको डिउटी पूरा गर्दाखेरी प्रहरी छानविनको दायरामा किन आउँछ ? सबैभन्दा मुख्य छानविन गर्नुपर्ने विषय नै पुलिस जस्तो भइरहेको छ अहिले,’ खापुङ्गले भने, ‘त्यो पुलिसले आफ्नो व्यक्तिगत कामको लागि गरेको हो र ? राज्यको लागि गरेको हो । त्यो आक्रोश कसले सिर्जना गर्यो । प्रहरीको रचनात्मक आलोचना होस् । मैले त्यही खोजी रहेको छु । आलोचनाले म सुध्रिने मौका पाउँछु ।’
खापुङ्गले भने, ‘प्रहरीले व्यक्तिगत रुपमा गरेको कामको दायरामा पर्नु स्वभाविक छ । राज्यले बनाएको कानून बमोजिम आफूले पूरा गरेको डिउटी, निर्वाह गरेको जिम्मेवारी वा प्रहरीमाथि अपराधिक दायित्व सिर्जना गरेर अनुसन्धान हुन थाल्छ भने प्रहरीको मानसिकता के हुन्छ ?’
आईजीपी खापुङले निर्वाचनका लागि प्रहरी तयार रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीज्यूको गम्भीर चासो अहिलेको निर्वाचन नै गराउने भन्ने हो । प्रहरी सहयोग गर्न तयार छ । हामी चुनाव गर्न सक्छौँ । केही ठाउँमा सानोतिनो गडबडी हुन सक्छन् । बिगतमा पनि भएका थिए ।’
‘भोलि गएर निर्वाचन हुन्छ । निर्वाचनको ब्यालेट बक्स अगाडि बन्दुक बोकेर उभिनु पर्छ प्रहरी । राईफल बोकेर उभिन्छ प्रहरी,’ उनले भने, ‘ब्यालेट बक्सको सुरक्षाका लागि । यदि त्यो कसैले लुट्न आयो भने के गर्ने ? केही गरेन भने पनि प्रहरी छानबिनको दायरामा, यसले आफ्नो जिम्मेवारी पूरा गरेन भनेर । भएको हतियार पनि प्रयोग गरेन, आफ्नो हतियार, कानूनले दिएको अधिकार पनि प्रयोग गरेन भनेर । त्यतिखेर पनि छानबिन हुन्छ । यदि गरेर केही घटना भयो भनेदेखि प्रहरीले अनावश्यक गर्यो, मान्छे मार्यो भनेर फेरि छानविनको दायरामा पर्छ । यस्तो कुराहरूमा नीतिगत कुराहरूको स्पष्टता छ । नीतिगत स्पष्टता भने प्रहरीले सबै काम गर्न सक्छ ।’
आईजीपी खापुङ्गले राज्यका लागि कानूनले दिएको दायित्व पूरा गर्दा प्रहरीलाई घोँची घोँची हत्या गरेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘प्रहरीलाई लखेटी लखेटी, घोँची घोँची मारेको छ । यस्तो अवस्थामा प्रहरीको मनोवल उच्च छभन्दा मैले ढाँटेको ठहर्छ । प्रहरी अहिले पनि काम गर्न सक्छौँ भनेर लागिरहेका छौँ । आफूले कानून बमोजिम गरेको परफर्म गरेको कामको लागि प्रहरी छानविनको दायरामा पर्नु हुँदैन ।’
उनले भने, ‘प्रहरीले यो समाजमा गरेको योगदान छ । त्यसको महसुस त भयो नी ? भदौ २५ गते सबै जनता आफै उठेर प्रहरी कार्यालयको भवनहरूलाई कसरी ठड्याउने भनेर त्यही दिनदेखि लाग्नुभयो ।’
‘भदौ २३ र २४ को आन्दोलनको घटनालाई लिएर के के भए ? त्यसको विस्तृत रुपमा अध्ययन गरेर अनुसन्धान गरेर कसलाई के कारबाही गर्ने भनेर रेकुमेण्ड गर्ने अधिकारसहित टीओआरसहित आयोग बनेको अवस्था छ,’ खापुङ्गले भने ।
‘त्यतिखेरको जोहरी हामीले लिदै जाने र हामीले मुद्दा चलाउँदै जाने हो भने आयोगको के काम हुन्छ र ? आयोगलाई राजपत्रमा प्रकाशित छ क्लियर २३ र २४ को घटनाको बारे अध्ययन, अनुसन्धान गरेर कारबाहीको सिफारिससम्म गर्ने गरेर अधिकार छ,’ उनले भने ।
‘राजनीतिक आन्दोलनको कुरो र लुटपाट, हत्याको कुरोलाई अलिकति अलग्याएर हेर्नुपर्ने हुन्छ । यो कुरो आयोगले पनि त्यस्तो किसिमको फौजदार, विशुद्धमा प्रहरीले कारबाही गर्न सक्छ भनेर भनेको छ,’ आईजीपी खापुङ्गले भने ।
‘यो अपराधी गतिविधि हो की राजनीतिक आन्दोलन हो भनेर छुट्टाउनलाई । जस्तो सर्वोच्च अदालत जलाइयो, त्यसलाई के भन्ने, त्यसलाई लुटपाट भन्ने की ? फौजदारी गतिविधि भन्ने की ? संसद भवन जल्यो, त्यसलाई के भन्ने ? राजनीतिक गतिविधि भन्ने की ? तोडफोड आगजनी भन्ने ?’ प्रश्न गर्दै आईजीपी खापुङ्गले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया