भारी मन बनाउँदै कांग्रेसका ‘खम्बा’द्वारा पार्टी परित्याग, पार्टीमा बस्नै नसक्ने अवस्था सिर्जना

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले कांग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत बजगाईंले आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन् । उनले पार्टीभित्रको संस्कार र इतिहास मेटिँदै गएको र नेतृत्व विचलित भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन । सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन् ।’

‘अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ नेता बजगाईंले भनेका छन् ।

बजगाईंले संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सदस्यता पुनःस्थापन गर्ने निर्णयको समेत आलोचना गरेका छन् । उनले भनेका छन्, ‘किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरिफेरि भर्न किन पर्थ्यो र ? त्यसको औचित्य छैन थिएन नि ।’

‘संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु,’ उनले भनेका छन् ।

नेता बजगाईंले पार्टीभित्र एउटा समूह कब्जा अभियानमा लागेको र भित्री षड्यन्त्रमार्फत सदस्यताको संरचना नै बदल्न खोजिएको गम्भीर आरोप समेत लगाएका छन् ।

‘विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन् । उनीहरूले यसरी खेल खेलिरहेका छन् – सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुङ्गाको पर्खाल खडा गरेर तथ्याङ्क संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने,’ नेता बजगाईंले भनेका छन् ।

भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई अबैधानिक रुपमा गगनकुमार थापाले हाइज्याक गरेपछि नेता बजगाईंले विरोध गर्दै आएका छन् । उनले विधि, पद्धति र प्रक्रियाबाट कांग्रेसको नेतृत्व लिनुपर्ने पक्षमा आफू रहेको बताउने गरेका छन् ।

गगन थापाले निर्वाचनका बेला विशेष महाधिवेशनको नाममा कांग्रेस कब्जा गरेपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ । कांग्रेसको आधिकारिकता पाउन गगन थापाले अझै पनि क्रियाशील सदस्यतादेखि विभिन्न बखेडाहरू गर्न थालेपछि नेता बजगाईंले कांग्रेसमा बस्नै नसक्ने अवस्था आएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।

Published : Monday, 2026 April 13, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया