लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री बालेनद्वारा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग विस्तृत छलफल गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शाहले लुम्बिनीका सांसदहरूसँग चालु आर्थिक वर्ष २०८२ र ८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा छलफल गरेका हुन् । सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका छन् ।

कपिलवस्तु–२ का सांसद विक्रम थापाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तिलौराकोटलाई स्मार्ट हेरिटेज सिटीको रूपमा विकास गर्न प्रस्ताव राखेका छन् ।

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले कपिलवस्तु जिल्लामा ७० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी रहेकाले उनीहरूको व्यवस्थापनको विषय सम्बोधन गर्न माग गरेका छन् ।

पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा हुँदै सल्यान जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसका सांसद सन्दीप रानाले माग गरेका छन् ।

एमालेका सांसद मोहम्मद इश्तियाक राईले सामाजिक सद्भाव र धार्मिक संहिष्णुता कायम राख्न सरकारको विशेष पहल आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै लुम्बिनी प्रदेशको समग्र विकासलाई अघि बढाउने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

Published : Monday, 2026 April 6, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया