आईजीपी कार्कीद्वारा प्रहरी अस्पतालको ल्याब उद्घाट, ईसीटी मेसिन हस्तान्तरण

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सवको कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहभागी भएका छन् ।

महाराजगञ्जस्थित अस्पतालमा आइतबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले अस्पताल परिसरमा नवनिर्मित ल्याबको उद्घाटन समेत गरेका छन् । कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.आशिष दत्तलाई ईसीटी मेसिन हस्तान्तरण गरेका छन् । उनले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण– २०८२’ को लोकार्पण समेत गरेका छन् ।

विशेषज्ञ चिकित्सकहरू तथा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू लगायतलाई आईजीपी कार्कीले कदरपत्र प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शीता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको बताए । उनले नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास लिएको बताए ।

प्रहरीको दैनिक जीवनशैली र काम कारबाही आफैमा संवेदनशील एवम् शारीरिक तथा मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्यबोझ समेत धेरै हुने हुँदा स्वास्थ्य सम्बन्धी सबै गुनासोहरूलाई उचित सम्बोधन गरी अस्पतालले सम्पूर्ण दृष्टिकोणबाट सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरूरी रहेको उनले बताएका छन् ।

विगतमा देखिएका कमीकमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्नुपर्ने उनले बताएका छन् ।

अस्पतालको स्तरोन्नति र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने आईजीपी कार्कीले बताए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती नवीना कार्कीले टिभी र ईसीजी मेसिन अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डेलाई हस्तान्तरण गरेकी छिन् । संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन् ।

Published : Sunday, 2026 April 5, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया