प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाइ तथा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई भारतका प्रधानमन्त्री मोदीले बधाइ दिएका हुन् । मोदीले शाहलाई न्यानो बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

मोदीले शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो भरोसा र विश्वासलाई प्रतिविम्बित गरेको उल्लेख गरेका छन् ।

जनमतको कदर गर्दै भारतीय प्रधानमन्त्री मोदीले बालेनको नेतृत्वमा नेपालले प्रगतिको बाटो तय गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई थप बलियो बनाउन आफू तयार रहेको पनि उल्लेख गरेका छन् । दुवै देशका नागरिकको आपसी हित र फाइदाका लागि प्रधानमन्त्री शाहसँग नजिक रहेर काम गर्न आफू आतुर रहेको मोदीले उल्लेख गरेका छन् ।

नयाँ प्रधानमन्त्रीसँगको सहकार्यले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आपसी सहयोगलाई अझै नयाँ उचाइँमा लिएर जाने मोदीको भनाइ छ ।

यसैबीच, भारतका विदेशमन्त्री डा.एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत विदेशमन्त्री डा.जयशङ्करले खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाइ दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन खनालसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरेका छन् ।

Published : Friday, 2026 March 27, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया