देउवाको अनुहार देखाएर चुनावमा जान सकिदैन भनेको होइन र गगनजी ? जनताले तपाईकै अनुहार हेर्न चाहेन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हत्या गर्न भदौ २४ गते निवासमै सांघातिक हमला भयो । देउवा र उनकी पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणालाई सांघातिक आक्रमण भयो ।

त्यो आक्रमणबाट सभापति देउवा र नेतृ डा.राणा रगतमा लतपतको अवस्थामा झण्डै १२ घण्टापछि अस्पताल लगियो । देउवाको निवासमा लुटपाट भयो । घर जलाइयो ।

भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको लुटपाट एवम् आगजनीमा सभापति देउवा र उनको परिवारमाथि भएको सांघातिक हमलाको गगन थापासहितका नेताहरूले भर्त्सना गर्न सकेनन् । भौतिक आक्रमणमा परेका देउवा दम्पत्तिलाई १२ घण्टापछि उद्दार गरेर अस्पताल पुर्‍याइएको थियो । त्यो भौतिक आक्रमणका घाउहरूलाई राम्रोसँग ड्रेसिङ पनि हुन पाएको थिएन । त्यही बीचमा गगन थापाले पार्टीको सक्रिय भूमिकाबाट अलगिनु पर्‍यो भन्दै सभापति देउवालाई नै जेनजी आन्दोलनको खलनायकको रूपमा प्रस्तुत गरे । गगनको त्यो अभियानलाई विश्वप्रकाश शर्मा लगायतका नेताहरूले साथ दिए ।

सभापति देउवा र नेतृ डा.राणामाथि भएको त्यो बर्बरपूर्ण भौतिक आक्रमणको गगन थापाले एकशब्द पनि निन्दा गरेनन् । स्वास्थ्य लाभको कामना समेत गरेनन् । पार्टीको लेटरहेडमा प्रेस विज्ञप्ति जारी हुँदा समेत गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवा र नेतृ डा.राणालाई एकशब्द स्वास्थ्य लाभको कामना गरेनन् ।

३५ दिनपछि सभापति देउवा पार्टी केन्द्रीय कार्यालय, सानेपामा सार्वजनिक भए । पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य प्रतिकूलताका कारण कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएको घोषणा गरे ।

जेनजी आन्दोलनका नाममा भएको विध्वंसमा सबैभन्दा धेरै क्षति बेहोर्नु पर्दा पनि सभापति देउवाले गरेको त्यो सम्बोधनमा कोही कसैमाथि कुनै पनि नकारात्मक टिप्पणी गरेनन् । देउवाले भदौ २३ गते मारिएका बालबालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरे । आन्दोलनको जगमा बनेको सुशीला कार्कीको सरकारलाई निर्वाचनका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न सुझाव दिए । देउवाले कहीँ कतै गुनासो गरेनन् । न त आफूमाथि भएको आक्रमणको आक्रोश नै पोखे । सभापति देउवाको यो शालिनतालाई कांग्रेसभन्दा फरक पार्टी र नागरिक समाजका अगुवाहरूले कांग्रेसको असल चरित्र यही भएको र शेरबहादुर देउवाले कांग्रेसको असल चरित्र प्रस्तुत गरेको भनेर प्रशंसा पनि गरे ।

यही अवस्थामा चुनावमा भाग नलिने अडानमा रहेका एमाले नेताहरूलाई चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, भाग लिनुपर्छ भनेर कन्भिन्स पनि सभापति देउवाले नै गरेका हुन् । एकातिर केपी ओली र महेश बस्नेतहरूका भड्काउ अभिव्यक्तिको खरो निन्दा भइरहेको थियो । अर्कोतिर सभापति देउवाको शालीनताको प्रशंसा भइरहेको थियो । सभापति देउवाको यो शैलीको ब्रान्डिङ गरेर पार्टीलाई एकजुट बनाएर निर्वाचनमा होमिनु पर्ने थियो । तर, यही बेला पार्टीभित्रैका नेताहरूले शेरबहादुर देउवाको अनुहारलाई कुरुप बनाए । देउवाको अनुहार नबिक्ने, आफ्नो अनुहार मात्रै बिक्ने भाष्य निर्माण गरेर पार्टीलाई विशेष महाधिवेशनका नाममा गगन थापाले विभाजनको डिलमा पुर्‍याए । आफ्नै अनुहार बिक्ने दाबी गरेर निर्वाचनमा होमिएका स्वघोषित सभापति गगन थापा र नेताहरूले सभापति देउवाले भोट नमागेका कारण कांग्रेसले यो परिणाम बेहोर्नु प¥यो भन्दै रुवावासी गरेको सुन्नु परेको छ । योभन्दा विडम्बना के हुन सक्छ ?

Published : Wednesday, 2026 March 25, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया