कांग्रेसको आधिकारिता मुद्दाको फैसला नभई नियमित महाधिवेशन हुँदैन : केन्द्रीय सदस्य घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता घिमिरेले पार्टीको आधिकारिता सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको बताए । घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाए पनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने बताए ।

उनले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताएका छन् । नेता घिमिरेले नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

कांग्रेसका नेता घिमिरेले भने, ‘मेरो सर्वोच्च अदालतसँग तपाईंहरूकै माध्यामबाट एउटा ठूलो आग्रह छ । तपाईंहरूले छिटो फैसला दिनुपर्छ । यो तपाईंहरूको संवैधानिक दायित्व र कर्तव्य हो । चाँडो फैसला दिनुस् । अन्योलमा नराख्नुस् । यो भन्दा अगाडि धेरै मुद्दाहरूमा समयमा फैसला दिनु भएन ।’

‘संवैधानिक नियुक्तिका विषयहरूलाई त्यत्तिकै पेन्डुलम बनाएर राखिदिनु भयो । जसपाको मुद्दा अहिलेसम्म पेन्डिङ छ,’ उनले भने, ‘संसद पुनःस्थापनाको मुद्दामा फैसला नै दिन चाहनु भएन । यसरी अल्झाएर राख्दा सर्वोच्च अदालतप्रतिको जनविश्वास गुम्ने खतरा हुन्छ । त्यसले गर्दा चाँडो फैसला गर्नुस् ।’

उनले भने, ‘त्यो फैसला आइसकेपछि जसको आधिकारिता प्रमाणित हुन्छ, जसको पक्षमा आदेश दिन्छ सर्वोच्चले, त्यसलाई मानेर त्यसैको नेतृत्वमा हामीले नियमित महाधिवेशन गर्नुपर्छ ।’

नेता घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गर्न गरेर अघि बढ्नुपर्ने बताए ।

नेता घिमिरेले सभापति शेरबहादुर देउवालाई बेवास्ता गरेर जाँदा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको बताएका छन् ।

भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका छन् । प्रधानमन्त्रीको उम्मेदवार बनेर निर्वाचनमा गएका थापा सर्लाही ४ बाट पराजित भएका छन् । थापाले कांग्रेसलाई पनि इतिहाँसकै कमजोर अवस्थामा लगेर हराएका छन् ।

थापाले कांग्रेसको नियमित १५औँ महाधिवेशन गर्ने भनेर कार्यतालिका समेत बाहिर ल्याएपछि कांग्रेस केन्द्रीय सदस्य घिमिरेले अदालतको फैसाला आएपछि मात्रै महाधिवेशन हुने बताएका हुन् ।

Published : Tuesday, 2026 March 24, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया