सत्तरी लाख भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुछिएका पूर्वमहानिर्देशकलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौंले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक समेत रहेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपियाँ धरौटी मागेको छ ।

मंगलबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला को इजलासले अधिकारीलाई नगद २५ लाख रुपियाँ वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश दिएको हो । विशेष अदालतमा मुद्दा दायर भएसँगै अधिकारी निलम्बनमा छन् ।

अदालतको आदेशमा भनिएको छ, ‘अहिलेलाई आरोपित जग्गा (कित्ता नं. ९९८) अनुसन्धानकै क्रममा रोक्का रहेको देखिएकाले धरौटी लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष अघि बढाइनेछ ।’

अधिकारी मंगलबार अदालतमा स्वयं उपस्थित भएका थिए । अधिकारीलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने विषयमा भएको बहसमा उनका तर्फबाट अधिवक्ताद्वय अपूर्व खतिवडा र योगेश्वर भण्डारीले पक्ष राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध ७० लाख रुपियाँ घुस लिएको आरोपमा चैत १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

एचके इन्टरप्राइजेज प्रालि सम्बन्धी राजस्व चुहावट मुद्दामा सहजीकरण गरिदिने नाममा अधिकारीले ७० लाख घुसको रकम लिएको आरोप अख्तियारले लगाएको छ ।

Published : Tuesday, 2026 March 24, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया