बालेनले १३ गते प्रधानमन्त्रीको शपथ लिने, गृह र अर्थमा कसको सम्भावना ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिने समय नजिक आउँदै गरेका बेला सरकार गठनका विषयमा आन्तरिक गृहकार्य भइरहेका छन् ।

शुक्रबार आफू निकटका शीर्ष नेताहरूसँग रास्वपाका सभापति रवि लामिछानेले आन्तरिक परामर्शहरू गरेका छन् । संसदीय दलको नेतामा बालेनलाई सर्वसम्मत चयन गर्ने विषयमा समेत लामिछानेले परामर्श गरेका छन् । संसदीय दलको नेता चयनमा रास्वपाले सर्वसम्मत निर्णय गर्ने तयारी गरेको छ ।

रास्वपाले झण्डै दुईतिहाइ सिट जितेको छ । रास्वपाले नयाँ सरकार गठनबारे छलफल शुरू गरेको छ ।

चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा जुटेको छ । क–कसलाई मन्त्री बनाउने भन्नेबारे पनि सभापति लामिछानेले छलफल शुरु गरेका छन् ।

मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारीमा रास्वपा रहेको छ । उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ । अर्याल गृहमन्त्री र वाग्ले अर्थमन्त्री बनाउने गरी छलफल भइरहेको स्रोतले जनाएको छ । गृहमन्त्रीको चाहना राख्नेमा सुदन गुरुङ र राजु पाण्डे पनि छन् ।

यसबाहेक महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनीष झा, दीपक बोहरा, शिशिर खनाल, सोबिता गौतम, सस्मित पोखरेललाई पनि मन्त्री बनाउने चर्चा छ । शिशिर खनाललाई परराष्ट्र, सोबिता गौतमलाई कानूनमन्त्री बनाउने विषयमा छलफल भएको छ ।

चैत १२ गते सांसदहरूलाई शपथ खुवाउने तयारी छ । त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेनले प्रधानमन्त्रीको शपथ लिने छन् ।

Published : Friday, 2026 March 20, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया