खक्रौला भन्सारमा सशस्त्र प्रहरीको गुल्ममै प्रवेश गरी सुरक्षाकर्मीमाथि हातपात, एकजना पक्राउ, बाँकी फरार
धनगढी । कैलालीमा खक्रौला भन्सार क्षेत्र नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्ममै भीड प्रवेश गरी डीएसपीसहितका सुरक्षाकर्मीमाथि हातपात भएको छ ।
घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथि कुटपिट गरिएको छ । स्थानीय व्यापारी र सर्वसाधारणले डीएसपी पालले ज्यादती गरेको आरोप लगाउँदै गुल्मभित्रै छिरेर आक्रमण गरेका हुन् ।
स्थानीयका अनुसार भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि विवाद शुरु भएको थियो । विवाद समाधान गर्न टीकापुर उद्योग वाणिज्य संघका प्रतिनिधिसमेत सहभागी भएर गुल्ममा छलफल भइरहेको थियो । छलफल सकिएलगत्तै केही स्थानीय युवा आक्रोशित बन्दै गुल्ममै पसेर हातपातमा उत्रिएका हुन् ।
घटनापछि सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठेपछि कडा कदम चालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले डीएसपी पालबाहेक गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई जिल्ला तान्ने निर्णय गरेको छ ।
डीएसपीमाथि हातपात हुँदा समेत स्थिति नियन्त्रण गर्न नसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाइएको छ । अब उक्त स्थानमा नयाँ टोली खटाइने तयारी भएको छ ।
यसैबीच, सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका—९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो ।
कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए । तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको अपराधिक उपद्रव मुद्दामा साउदलाई पक्राउ गरिएको छ ।
साउदसँगै अन्य ५ जनाको नाममा समेत जाहेरी दिइएको छ । बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुरखिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ । फरार रहेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बीओपी खक्रौलाले जिएसटी बिल र भारतीय भन्सार पास गरेको टीकापुरका व्यवसायीको सामान मंगलबार जफत गरेपछि विवाद भएको थियो । सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली छलफलका लागि बीओपी खक्रौलामा पुगेका बेला बुधबार सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो ।
बिल बिजक भेटिएपछि भने सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघ मार्फत सम्बन्धित व्यवसायीलाई फिर्ता गरेको थियो । घटनाको छानविनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया