राजेश हमाललाई लिएर ‘अन्धपथ’ फिल्म बनाउने भन्दै बजेट दुरुपयोग, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालत काठमाडौंमा साउदसहित ४ जनाविरुद्ध अभियोगपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । अभिनेता राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोप उनीहरूलाई छ ।

अध्यक्ष साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे २४ मिडिया प्रा.लि. नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर)विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष लम्सालसँग मिलेमतोमा पालिका अध्यक्षले ‘अन्धपथ’ नामको चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपियाँ सरकारी बजेट दुरुपयोग गरेको अख्तियारले निष्कर्ष निकालेको छ ।

उनीहरूविरूद्ध प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रूपियाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ । अनुसन्धानबाट सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत प्रक्रिया नअपनाई ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नगरी नै सम्झौता गरिएको पाइएको छ ।

१५ लाख ५ हजार रुपियाँ बराबरको सम्झौता प्रतिस्पर्धाबिना सोझै गरिएको र कानुनले तोकेको सीमा भन्दा बढी पेश्की भुक्तानी दिइएको आरोप लगाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।

अग्रिम बैंक जमानत नलिई रकम भुक्तानी गरिएको, सम्झौता एक संस्थासँग भए पनि भुक्तानी अर्को संस्थालाई गरिएको तथा नक्कली बिलका आधारमा थप खर्च देखाइएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिवादीहरूले १२ लाख ७७ हजार २५० रुपियाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरी व्यक्तिगत लाभ लिएको निष्कर्ष निकालिएको छ ।

Published : Thursday, 2026 March 19, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया