चैत १२ गते सांसदहरूको शपथ, नेकपाको कार्यालयमा रास्वपा बस्ने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।

बिहीबार संघीय संसद् सचिवालय, सिंहदबरामा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलमा आगामी चैत १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको हो ।

दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए ।

नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणका लागि समेट्नुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए ।

प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए ।

Published : Thursday, 2026 March 19, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया