जात, धर्म र पहिचानको राजनीति त्यागेर मानवतामा आधारित राजनीति गरौं : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सबै जाति र समुदायले समान अधिकार प्राप्त गरेको बताए ।

गणतन्त्र स्थापनापछि जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्य लगायत सबै समुदायले अधिकार प्राप्त गरेको उनले बताए । बानियाँले अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानले सुनिश्चित गरिसकेको बताए । उनले पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि विभाजनकारी ढंगले प्रयोग गर्न नहुने बताए ।

मुख्यमन्त्री बानियाँले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यस समयमा जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी र सर्वसाधारण नागरिकको ज्यान गएको बताए ।

उनले भने, ‘जातको पहिचान, जातको अस्तित्व समावेशी र समानुपातिक प्रतिनिधित्व यो संविधानले सुनिश्चित गरेको हो । त्यसैले अब हामीले सधैं अधिकारको लडाईं लड्ने होइन, कर्तव्यको व्यवस्थापन गरेर जाने हो ।’

सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।

Published : Thursday, 2026 March 19, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया