एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, मानवीय क्षति हुन पाएन

खार्तम्छा । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ ।

बुधबार भएको दुर्घटनामा छ जना घाइते भएका छन् । काठमाडौंबाट पाँच यात्रु लिएर मध्यान्ह १२ बजेर २ मिनेटमा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा चालकसहित छ जना सवार रहेका थिए । ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको छ ।

घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै अर्को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ । काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थाबाट उद्धार गरिएको थियो ।

हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरू आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेका छन् ।

एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् ।

Published : Wednesday, 2026 March 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया