०७९ को तुलनामा ०८२ को निर्वाचन शान्तिपूर्ण, नेपाल प्रहरीको उल्लेखनीय भूमिका
काठमाडौं । ०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा ०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण र प्रभावकारी सुरक्षा व्यवस्थापनसहित सम्पन्न भएको छ ।
निर्वाचनमा सुरक्षा अवस्था, झडपका घटनाहरू, मानवीय क्षति, मतदान व्यवस्थापन र समग्र निर्वाचन प्रक्रिया संचालनका दृष्टिले उल्लेखनीय सुधार देखिएको छ । २०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए, जसका कारण कतिपय स्थानमा मतदान स्थगित गर्नुपर्ने अवस्था समेत सिर्जना भएको थियो । सोही क्रममा बाजुरामा २ जना र कालिकोटमा २ जना गरी ४ जनाको मृत्यु समेत भएको थियो भने ईलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना मानिस घाइते भएका थिए ।
ताप्लेजुङ, ईलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु, दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयास भएका थिए । ताप्लेजुङ, ओखलढुङ्गा, सप्तरी, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, कैलाली र ललितपुरमा गरी ५० स्थानमा झडपका घटनाहरू भएका थिए ।
यसबाहेक, उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा हुनुका साथै देशभर ६२ मतदान स्थलमा निर्वाचन कार्य अवरुद्ध हुन पुगेको थियो ।
यसैबीच, ०८२ फागुन २१ गतेको निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त, दुरुस्त र व्यवस्थित भएका कारण समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सफल भएको हो । मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थितिलाई व्यवस्थित, सक्रिय र प्रभावकारी बनाइएपछि कुनैपनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना हुनबाट जोगिएको छ ।
मतदानको क्रममा कतिपय स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षामा खटिएका प्रहरीले संयमित र प्रभावकारी रूपमा तत्कालै स्थिति नियन्त्रणमा लिए, जसले गर्दा मतदान प्रक्रिया सौहार्दपूर्ण वातावरणमा समयमै सम्पन्न हुन मद्दत पुग्यो ।
विशेषगरी जेनजी आन्दोलनको समयमा अप्रत्यासित क्षति ब्यहोर्न पुगेको नेपाल प्रहरीको खस्किएको मनोबल, लुटिएका हतियार र कारागारबाट फरार कैदिबन्दीको बिषयलाई लिएर अनेकौँ शंका उत्पन्न भएको अवस्थामा समेत प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरी उच्च मनोबल र समर्पणका साथ निर्वाचन सुरक्षामा खटिएको थियो ।
सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरी संवेदनशील जिल्लाहरूमा माथिल्लो दर्जाका अधिकृतहरूको अनुगमन र सुपरीवेक्षण सुनिश्चित गरिएकोले सुरक्षा व्यवस्था थप मजबुत हुन पुगेको हो ।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण देखिएको छ । गत निर्वाचनमा देशका विभिन्न स्थानमा मानिसको मृत्यु र घाइते भएका घटनाहरू सार्वजनिक भएका थिए भने हालै सम्पन्न निर्वाचनमा त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन् । मतदान स्थगन र पुनः मतदानको सन्दर्भमा पनि गत निर्वाचनको तुलनामा यस निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त भएको छ । कतिपय स्थानमा प्राविधिक समस्या वा स्थानीय विवादका कारण अस्थायी अवरुद्धता भए पनि मतदान स्थगित भई पुनः मतदान हुने अवस्था सिर्जना नभई देशभर एकैसाथ निर्वाचन सम्पन्न भएको थियो ।
अघिल्ला निर्वाचनका अनुभव, सुरक्षा निकायहरूको प्रभावकारी समन्वय, मतदाता तथा राजनीतिक दलको सचेतना र निर्वाचन व्यवस्थापनका समग्र पक्षमा गरिएको सुधारले २०८२ फागुन २१ गतेको निर्वाचनलाई तुलनात्मक रूपमा इतिहासकै व्यवस्थित र शान्तिपूर्ण निर्वाचनका रूपमा स्थापित गरेको छ ।
विशेषगरी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको रणनीतिक नेतृत्व, नेपाल प्रहरीको अनुशासित, समर्पित परिचालन र दूरदर्शी सुरक्षा योजनाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्णायक साबित भएको छ । यसले नेपालको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नेपाल प्रहरीको व्यावसायिकता, प्रतिबद्धता र नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया