सन्दीप रानाले एमालेको आधार किल्ला भत्काइदिए, कांग्रेसको शानदार जित
तानसेन । पाल्पा १ मा नेपाली कांग्रेसका युवा नेता सन्दीप राना विजयी भएका छन् ।
शनिबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार ३८ वर्षीय रानाले विजयी भएका हुन् । एमालेको आधार किल्ला भनेर चिनिएको पाल्पा १ मा रानाले जितेर देखाइदिएका छन् ।
कांग्रेसका रानाले १८ हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत पाएर पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार २९८ मत ल्याएर तेस्रो तथा नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारीले ९५१ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।
पाल्पा १ मा जित दर्ता गरेर कांग्रेसका उम्मेदवार रानाले ०४८ सालमा कांग्रेसले जितेको ईतिहाँसलाई पुनरागमन गराएका छन् ।
देशभरमा एमालेको सुरक्षित क्षेत्रमा गणना हुने गरेको थियो पाल्पा १ । ३१ वर्षदेखि लगातार फराकिलो मतान्तरले एमालेले जितेको यो क्षेत्रमा अहिले भने नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।
एमालेको आधार इलाका मानिएको सो क्षेत्रमा निवर्तमान सांसद नारायण आचार्यलाई पराजित गर्दै रानाले आफ्नो जित दर्ता गरेका हुन् । जनजाति बाहुल्य क्षेत्र रहे पनि एमालेको वर्चस्व रहेको र सो क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहमा एमालेले एकल जितेको छ ।
०४८ पछिका सबै निर्वाचन एमालेले जित्दै आएको थियो । ०४८ मा कांग्रेसबाट कालुराम रानाले जितेपछि त्यसयता अगाडि आउन सकेको थिएन । त्यसपछि एमालेबाट ०५१ मा दलबहादुर राना, ०५६ मा भद्रबहादुर थापा, ०६४ दलबहादुर राना, ०७० राधाकृष्ण कँडेल, ०७४ मा दलबहादुर राना, ०७९ मा नारायण आचार्यले जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया