स्याङ्जा १ मा रास्वपाका डा.रेग्मी विजयी
पुतलीबजार । स्याङ्जा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.धनञ्जय रेग्मी विजयी भएका छन् ।
शनिबार मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा.रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका हुन् । ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन् ।
पुतलीबजार नगरपालिका–५ निवासी डा.रेग्मी पेसाले भूवैज्ञानिक तथा हिमनदी विज्ञ हुन् । उनले जापानको होकाइदो विश्वविद्यालयबाट सन् २००६ मा ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । हाल तालबाट जलविद्युत उत्पादन गरी पानीको स्तर व्यवस्थापन गर्ने नयाँ प्रविधिमा उनी सक्रिय रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेकोमा स्याङ्जा–१ अन्तर्गत हरिनास, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, फेदिखोला गाउँपालिका, पुतलीबजार नगरपालिका तथा भीरकोट नगरपालिका–१, २, ३ र ४ साथै वालिङ नगरपालिका–३ र ४ का मतदाताले मतदान गरेका थिए ।
यस क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता रहेकोमा ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये २९०८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । डा. रेग्मीले पहिलो पटक निर्वाचन लड्दै संसदीय यात्रा तय गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया