कांग्रेसले मुस्ताङबाट खाता खोल्यो, युवा नेता थकाली निर्वाचित

लेते । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा निकै कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा विजयी घोषणा गरेको छैन । थकालीसँग निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार इन्द्र धारा विष्टलाई पराजित भएका छन् ।

कांग्रेसका थकालीले ३ हजार ३ सय ७ मत ल्याएर विजयी भएको मुस्ताङ कांग्रेसले जनाएको छ । निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाएका छन् । थकालीले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीयचन्द्र थकालीले ७ सय ५९ मत पाएका छन् ।

थकाली अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । निर्वाचित भएका थकाली नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा समेत हुन् ।

मुस्ताङबाट थकालीले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । थकाली पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् ।

Published : Friday, 2026 March 6, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया