रास्वपाले जितको पहिलो झण्डा काठमाडौं १ मा गाड्ने निश्चित, कांग्रेसले किल्ला गुमायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं क्षेत्र नं. १ बाट पहिलो खाता खोल्ने पक्का भएको छ ।

शुक्रबार बिहान सवा १० बजेको पछिल्लो नतिजाअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने जितको नजिक पुगेकी छिन् । रञ्जुले १३ हजार ५ सय ९१ मतसहित अग्रता लिएकी छिन् । रञ्जुलाई नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६ सय ९६ मतसहित पच्छ्याइरहेका छन् । राप्रपाका रविन्द्र मिश्रले ३ हजार ५ सय मत, एमालेका मोहनराज रेग्मीले ७ सय ४५ मत, नेकपाकी मेनुका भण्डारीले २०१ मत पाएका छन् ।

काठमाडौं क्षेत्र नं. १ मा कुल मतदाता ४८ हजार ४ सय ८९ मत रहेको छ । काठमाडौं १ मा यसअघि नेपाली कांग्रेसका प्रकाशमान सिंहले पटक पटक जित्दै आएका थिए । यस पटक रास्वपाले काठमाडौं १ मा विजयको पहिलो झण्डा गाड्ने निश्चित सरह भएको छ । काठमाडौं १ लाई कांग्रेसले सधैँ आफ्नो किल्लाको रुपमा लिएको थियो ।

रञ्जु ३० वर्षकी छिन् । केही समय अगाडि रास्वपामा प्रवेश गरेर टिकट पाएकी थिइन् । उनले विवेकशील पार्टीबाट राजनीति शुरु गरेकी हुन् ।

Published : Friday, 2026 March 6, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया