कांग्रेस नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.राणाद्वारा उज्जैनमा महाकालेश्वर महादेवको दर्शन

उज्जैन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाले महाकालेश्वर (महादेव) मन्दिरमा पूजाअर्चना र दर्शन गरेकी छिन् ।

बिहीबार भारतको मध्यप्रदेश राज्यको उज्जैन नगरमा रहेको महाकालेश्वर भगवानको मन्दिरमा नेतृ डा.राणाले पूजाअर्चना गरेकी हुन् । नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडाले भनिन्, ‘पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूले महाकालेश्वर मन्दिरको दर्शन गर्नुभएको छ । विधिअनुसार पूजाअर्चना पनि गर्नुभएको छ ।’

पूर्व परराष्ट्रमन्त्री डा.राणा धार्मिक भ्रमणका क्रममा भारतमा रहेकी छिन् । उनले विभिन्न शक्तिपीठ र मन्दिरहरूमा दर्शन गरेकी छिन् ।

मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर बाह्र ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । पुराण, महाभारत र कालीदास लगायतको रचनामा महाकालेश्वर मन्दिरको वर्णन गरिएको छ ।

स्वयम्भू भव्य र दक्षिणमुखी भएका कारण महाकालेश्वर महादेवको महत्व रहेको छ । महाकालेश्वर महादेवको दर्शन गर्दा मोक्ष प्राप्ति हुने मान्यता रहेको छ ।

यसअघि, डा.राणाले मध्यप्रदेशमा रहेको बगलामुखी मन्दिरको दर्शन गरेकी थिइन् । डा.राणासँगै कांग्रेस नेतृ लक्ष्मी खतिवडा, बागमती प्रदेशको सहकारी तथा गरिवी निवारमन्त्री विनु रायमाझी पौडेल र समाजसेवी एवम् नेतृ अनिता सिंह पनि महाकालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् ।

Published : Thursday, 2026 February 26, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया