डिलासैनीमा रास्वपाका उदण्ड कार्यकर्ताद्वारा एमालेमाथि आक्रमण, दुई जना घाइते

डिलासैनी । बैतडी जिल्लामा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।

बुधबार भएको झडपमा परेर एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार डिलासैनी गाउँपालिका वडा नं. ७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको छ ।

झडपमा परी घाइते हुनेमा डिलासैनी गाउँपालिका वडा नं. ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य २८ वर्षीय जनक धामी र सोही ठाउँका २६ वर्षीय माधव धामी रहेको जिल्ला प्रहरी कार्यलय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् ।

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । झडपको विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ ।

रास्वपाका नेता तथा कार्यकर्ताहरू निर्वाचनका प्रचार प्रसारका क्रममा निकै आक्रामक र उत्तेजक बनेका छन् । निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्दै आएका रास्वपाका कार्यकर्ता र नेताहरूको उदण्ड गतिविधिबाट प्रहरी प्रशासन र निर्वाचन आयोग दिक्क भएको छ ।

Published : Wednesday, 2026 February 25, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया