सरिता प्रसाईं संसदमा आवश्यक्ता भएकी अब्बल व्यक्तित्व : कांग्रेस नेता खतिवडा
दमक । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले झापा क्षेत्र नं. २ की उम्मेदवार सरिता प्रसाईं संसदीय राजनीतिमा आवश्यक नेतृ रहेको भन्दै मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
मंगलबार झापा क्षेत्र नं. २ ले आयोजना गरेको प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले राष्ट्रिय राजनीति र संसदीय पद्धतिलाई राम्रोसँग बुझेकी प्रसाईंलाई कांग्रेसले टिकट दिएर प्रशंसनीय काम गरेको बताए । कांग्रेस मात्र नभइ अन्य दलबाट उम्मेदवार बनेका महिला नेतृहरूभन्दा सरिता प्रसाईं अब्बल रहेको खतिवडाले बताए ।
खतिवडाले भने, ‘झापा राष्ट्रिय राजनीतिमा असाध्यै चर्चित जिल्ला भयो । चाहे जुनसुकै पार्टीका नेताहरू हुन् राष्ट्रिय राजनीतिमा सधैँ वरीपरी झापाले खेलाएर हिँड्ने जस्तो बनेको छ झापा त्यसमा पनि झापा क्षेत्र नं. २ जहाँ हिजो सीके प्रसाईंले राजनीति गर्नु भएको थियो ।’
‘नेपाली कांग्रेसको राजनीतिमा सीके प्रसाईंले चिनाएको नेपाली कांग्रेस, रामबाबु प्रसाईंले लगायत अरु धेरै नेताहरूले चिनाएको झापा क्षेत्र नं. २ मा यस चोटी तपाईहरूले देशकै सबैभन्दा योग्य उम्मेदवार, संसदीय राजनीति बुझेको, कहिले काहीँ राजनीतिमा एउटै समितिमा राज्य व्यवस्था तथा सुशासन समितिमा म सभापति भएँ, सरिता प्रसाईं संसदीय राजनीतिमा राज्य व्यवस्था समितिको सदस्य हुनुहुन्थ्यो । उहाँको भूमिका अब्बल भूमिका थियो,’ खतिवडाले भने ।
‘सरिता प्रसाईं जस्तो व्यक्तित्व संसदमा आवश्यक्ता भएकोले यो व्यक्तित्वलाई तपाईहरूले मेरो र तेरो नभनेर फागुन २१ गते रुख चिन्हमा भोट हालेर विजयी गराइदिन अपील गर्छु । यो मौका झापा २ लाई छ,’ नेता खतिवडाले भने ।
कार्यक्रममा कांग्रेस नेतृ एवम् झापा २ की उम्मेदवार सरिता प्रसाईं, पूर्वमन्त्री मणि लामा, नेता सुधिर शिवाकोटी लगायतका कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया