कांग्रेस उम्मेदवार एवम् पूर्व अर्थमन्त्री डा.महतद्वारा अघि सारे नुवाकोट समृद्धिको आधार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाशशरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
मंगलबार नुवाकोटको ढिकुरेमा रहेको सम्पर्क कार्यालयमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा गरेर डा.महतले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आगामी निर्वाचनलाई नेपालको लोकतन्त्र, राजनीतिक स्थिरता र विकासको दिशासँग जोडिएको निर्णायक अवसरका रूपमा चित्रण गरे ।
उनको प्रतिज्ञापत्रमा लेखिएको छ, ‘यो भूमिबाट पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको अभियान थालेका थिए, अब यही ऐतिहासिक पहिचानलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै नुवाकोटलाई नयाँ पहिचान दिने समय आएको छ ।’
डा.महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई आफ्नो प्राथमिकता बताए ।
पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै नुवाकोटको विकासमा योगदान दिएको उल्लेख गर्दै उनले मतदातासँग विश्वासलाई मतमा परिणत गर्न अपील गरेका छन् ।
उनले नुवाकोटलाई बागमती प्रदेशभित्र रणनीतिक जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए । प्रतिज्ञापत्रमा नुवाकोटको विकासको आधार पूर्वाधार विस्तारलाई बनाइएको छ ।
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ ।
यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ । लिखु र तादी नदी कटान नियन्त्रण गर्दै सिंचाइ विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
स्थानीय उत्पादन स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने पनि उनले बताए ।
प्रतिज्ञापत्रमा ककनी, चिसापानी, सूइरेचौर, पञ्चकन्या लगायत क्षेत्रलाई पर्यटन केन्द्र बनाउने गुरुयोजना बनाउने उल्लेख छ ।
दुप्चेश्वर र कपिलेश्वर जस्ता धार्मिक स्थललाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक गन्तव्य बनाउने, गोसाईकुण्ड जाने पदमार्ग र केवलकार सम्भावना अध्ययन गर्ने योजना पनि उनले अघि सारेका छन् ।
डा.महतले प्रदेशस्तरीय आवासीय प्राविधिक तथा सूचना प्रविधि शिक्षालय स्थापना गर्ने, डिजिटल शिक्षा प्रणाली लागू गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
युवालाई विदेश पलायन रोक्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिमा सीप विकास कार्यक्रम, उद्यमशील कोष र सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ ।
महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ ।
डा.महतले विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया