एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक अन्तर्वार्तामा एलियनहरू वास्तविक हुन् भनेपछि ट्रम्पले ओबामालाई गोप्य सूचना चुहाएको आरोप लगाएका थिए ।
त्यसपछि सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत ट्रम्पले एलियन, अनआइडेन्टिफाइड एरिअल फिनोमिना (यूएपी) र अन्आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ) बारे सूचना सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
ब्रह्माण्डमा बाह्य जीवको अस्तित्व छ कि छैन भन्ने विवाद र तर्क विगतदेखि नै हुँदै आएको छ । आकाशमा अनौठा वस्तुहरू देखिएको विमान चालकहरू र अमेरिकी सैन्य अधिकारीहरूले बताउँदै आएका पनि छन् ।
यही सन्दर्भमा ती फाइल र सूचना सार्वजनिक गर्ने ट्रम्पको घोषणाले यो विषय झन् रोचक बनेको छ ।
यसअघि पनि एलियनको अस्तित्वबारे अमेरिकामा पटक पटक बहस छेडिने गरेको थियो । सन् २०१७ मा अमेरिकी रक्षा मन्त्रालयले एलियनबारे छानबिन गर्न एउटा गोप्य कार्यक्रम सञ्चालन गरेको थियो ।
सन् २०२२ मा अमेरिकी कंग्रेसमा यूएफओबारे संसदीय सुनुवाइ भएको थियो । सुनुवाइमा पेन्टागनले त्यसबारे पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया